राहत हो कि ‘मान्छे मार्नेका हातको सिदा’

राहत हो कि ‘मान्छे मार्नेका हातको सिदा’

नेपालीहरूको महान चाड दशैंको फूलपाती भित्र्याउने, घर सिँगार्ने आजभोलिका दिनमा पनि उत्साह छैन । ठाउँ ठाउँमा सिंगै गाउँ सुनसान र चकमन्न जस्तै छ । दशैंको संघारमा मध्य असोजमा आएको घनघोर झरीका कारण आएको बाढीले कतिपय बस्ती शोकमा डुब्ने अवस्था बनेको छ । काठमाडौं उपत्यकाभित्रैको गोदावरी खोला र नख्खु खोला, टुंगुन वैतरणी, काभ्रेको रोशीखोलालगायत खोला आसपासका बस्ती शोकमग्न छन् । ११ औं र १२ औं दिनको पितृ कर्म भइरहेका घरमा गाउँले जम्मा भएका देखिन्छन् । बस्ती नै शोकमा छ । बाढीले वितण्डा मच्चाएका कारण धेरैका घरगोठ जोखिममा परेपछि विभिन्न दाताले राहत बाँडिरहेका भेटिन्छन् । 

राहत बाँड्ने ठाउँमा केही व्यक्ति, समूह जसरी दौडिएका छन् लाग्छ, उनीहरू निकै दानवीर हुन र यो संसारका भोकानांगा उनीहरूको दानकै भरमा बाँचिरहेका छन् । राज्यले तोकेको एकद्वार प्रणाली वा विपद व्यवस्थापन नचिन्नेहरूका नमुना देखेर राहत लिन लाम लागेकाहरू नै तीनछक पर्ने । राहतको सामग्री यसरी लिनुस् भनेर पोजिसन मिलाई समाउन लगाउनेदेखि फोटो खिच्दा आफू मुस्काउने अनि राहत लिनेलाई पनि अलि उज्यालो अनुहार बनाउनुस्सम्म भन्न भ्याएका छन् । लेले टिकाभैरव क्षेत्रमा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी र वडाध्यक्ष विष्णुमान महर्जन पुगेर राहत बाँड्ने क्रममा एक जना व्यक्ति फरक्क फर्किएर खुरुखुरु घरतिर लागे । राहत बाँडेको फोटो र भिडियो खिचाउन जनप्रतिनिधिले लगेको क्यामेराम्यानहरूको टोली लाम लागेको देखेपछि उनी भातको साटो पानी घोलेर जाउलो बनाउँछु, एक बोरा चामल लिएर देश दुनियाँसामु आफ्नो ‘के बेइज्जत गर्नु ?’ भन्दै थिए । ठोट्ने र टुंगुनखोलातिर राहत बाँड्नेहरूले पार्टीका झण्डा राखेको भनेर पनि कोही फर्किए, कोही गएनन् र कतिपयले सामाजिक सञ्जालमै आलोचना गरे । 

उद्धार र राहतको काममा खटेकाहरूले प्रयोग गरेका लोगो, झण्डा, ब्यानर, टिसर्टहरूसहित फोटोग्राफर र भिडियोग्राफरको भीडले पीडितलाई थप पीडा भइरहेको बुझ्न कठिन थिएन । सत्तारुढ दलहरूले सरकारका विभिन्न निकायको प्रयोग र परिचालन गर्दासम्म फलानोको पहलमा भन्न र सामाजिक सञ्जालमा लेख्न छोडेनन् । हेलिकोप्टरको प्रयोग पनि प्रचारवाजीका लागि मात्रै भयो भन्दै आलोचना भइरह्यो । मध्यविपदमा फोन अफ गरेर सुत्ने अनि घाम लागेपछि हेलिकप्टरमा सवार हुनेहरूलाई राहत वितरणमा कतिपयले त हत्याराको हातको राहत के लिनु भन्दै बहिष्कार गरेको समेत सुनिन्थ्यो । 

हत्याराको हात भनिएको कथा भने अर्कै रहेछ । जब हत्याराको हातको राहत लिन्न भनेर साइड लागेका व्यक्तिसँग बुझियो उनी निकै भावुक भए । उनका आफन्तलाई बाढीले बगाएको रहेछ । उनी बाढीको सम्भावित ठाउँभन्दा निकै सुरक्षित ठाउँमा बस्दा पनि जोगिन नसकेका रहेछन् । यो सबै देखेभोगेका आफन्तले विपदले ल्याएको स्वाभाविक मृत्युको रुपमा मान्नै सकिरहेका छैनन् । उनी घरीघरी भन्छन्– ‘यो त हत्या हो ।’ कसले गरेको हो र हत्या ? उनको आफ्नै तर्क छ– ‘यो जथाभावी डोजर चलाउनेहरू, जथाभावी प्लटिङको नाममा पाखा भत्काउनेहरू, ढुंगाखानीका सञ्चालक र मतियारका कारण भएको विनाश हो ।’ उनले झन् थपे– यी सबै काम जनप्रतिनिधिको मिलेमतो नभै कसरी सम्भव हुन्छ ? यिनका हातको राहत के राहत यो त सिदा हो, त्यो पनि हत्याराको हातको ।’ 

मन कटक्क पार्ने यस्तो अभिव्यक्तिले जनप्रतिनिधिको मन छुँदो हो कि नछुँदो हो ? फेरि पनि खोलामा खानी, खोला छेउमा क्रसरको धुलो अनि एउटै डाँडामा पाँच सात मोड हान्दै बाटा बनाउने काम भइरहलान् कि नहोलान् ? नख्खु, गोदावरी र रोसीखोलाका शीरतिर र किनार आसपासतिरको नियति यही होइन ? यो विपदमा राहत बोकेर जनप्रतिनिधि, ढुंगाखानी र प्लटिङका मालिक अनि डोजर मालिक र निर्माण व्यवसायी त गाउँ पसेकै छन् । खादा माला लगाएर होस् वा टिसर्ट, क्याप, ज्याकेट लगाएर व्यानर टाँगेर राहत बाँडेकै छन् । किरियापुत्रीको छेवैमा कपाल खौरेर बसेका आफन्तले सोचेजस्तै यो विपदलाई हत्या नै मानिने हो भने त्यो पापको मोचन यो राहतले गर्ला ?

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू