विमानस्थलभित्र पिसाब फेर्ने बहानामा सुनको पोको हस्तान्तरण

विमानस्थलभित्र पिसाब फेर्ने बहानामा सुनको पोको हस्तान्तरण

संयुक्त अरब इमिरेट्सबाट काठमाडौं आएका एक जना यात्रुले आफूसँग रहेको सुन नयाँ दिल्लीबाट आएका अर्का यात्रुलाई विमानस्थलको शौचालयमा हस्तान्तरण गरेका छन् । अबुधाबीबाट एअर अरेबियाको उडान नम्बर ३ एल ००४३ मा हिजो दिउँसो पौने ४ बजे अवतरण भएको विमानका यात्रुले नयाँ दिल्लीबाट सोही समयमा आएका अर्का यात्रुलाई ४ बजेको समयमा सुन हस्तान्तरण गरेको बताइन्छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय स्रोतका अनुसार एअर अरेबियाको उडानमा आएका राहदानी नम्बर यू८५१८६६० वाहक भारतीय नागरिक हरेश सेवलदास बिजलानीले आफूसँग रहेको १ किलो ६५ ग्राम सुन अर्का भारतीय नागरिकलाई विमानस्थलको आगमन कक्षको शौचालयमा सुन बुझाएका थिए । 

सोही समयमा नयाँ दिल्लीबाट आएको इण्डिगो एअरलाइन्सको उडान नम्बर ६इ११५५ का भारतीय भोटर आईडी नम्बर एमवाईडीई८७२२७२० का कमलेश रमेशलाल रोहरालाई उक्त परिमाणको अर्ध तरल अवस्थाको सुन दिइएको अनुसन्धानबाट खुलेको छ ।

नेपाल प्रहरी र भन्सारका कर्मचारीले सुन हस्तान्तरण गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक चेकजाँच गरेको थियो । सोही क्रममा रोहराले बोकेको रातो रंगको ब्यागभित्र कालो प्लास्टिकले बेरिएको तीन वटा डल्ला सुन फेला परेको बताइन्छ । दुबैलाई आवश्यक अनुसन्धानको निम्ति राति ८ बजे महानगरी वृत्त गौशला पुर्याइएको हो ।

टिप्पणीहरू