निर्मला कुर्मीको पक्षमा आज पनि धर्ना, सरकार असंवेदनशील भएको आरोप
निर्मला कुर्मी हत्या प्रकरणको छानविन र दोषीमाथि कारवाहीको माग गर्दै अधिकारकर्मीहरुको समूहले माइतीघर मण्डलामा धर्ना दिएको छ । महिला अधिकारकर्मी रुबी खानसहितको टोलीले तीन बुँदे माग राखेर आज ६७ औँ दिनको धर्ना जारी राखेको हो ।
राष्ट्रिय महिला सुरक्षा दबाब समूह, राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जाल र महिला अधिकारको लागि राष्ट्रिय अभियानको संयुक्त अगुवाइमा भएको धर्नामा महिला अधिकार मञ्च बाँकेकी इञ्चार्ज रुबी खान, अध्यक्ष मनकुमारी गुरताल, सदस्य राहुल शेखलगायत ११ जनाको उपस्थिति छ ।
धर्नाकारीले निर्मला कुर्मीको हत्याको मुद्दा अदालत पठाउन पटक-पटक सरकारले सहमति गरेपनि मुख्य अभियुक्त बादशाह कुर्मीलाई सत्ताधारी पार्टीहरुले संरक्षण गरेको बताएका छन् । महिलाका मुद्दामा सरकार चरम असंवेदनशील रहेको उनीहरुको गुनासो छ ।
निर्मलाको न्यायको लागि सरकारलाई दबाब दिन अधिकारकर्मीहरुले गत जेठ २५ गतेदेखि मण्डलामा धर्ना शुरु गरेका थिए । असार ११ गते सरकारसँग पाँच बुँदे सहमति भएपछि धर्ना तथा आन्दोलन कार्यक्रम स्थगित भएको थियो ।
त्यसैबीच नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन बनेसँगै मुख्य अभियुक्त भनिएका बादशाह कुर्मीलाई लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनाइएपछि साउन २५ गतेदेखि उनीहरुले पुन: धर्नामा उत्रिए । चौतर्फी दबाबपछि कांग्रेस नेतासमेत रहेका बादशाहले असोज २५ गते मन्त्री पदबाट राजीनामा दिएपनि उनलाई दण्डित नगरिएसम्म्म धर्ना जारी राख्ने अधिकारकर्मी महिलाहरुले जनाएका छन् ।
पुरानो अनुसन्धान टोलीलाई बाँके पठाउनुपर्ने, समयभित्रै मुद्दा अदलतमा दर्ता गरिनुपर्ने र अन्दोलनकारीको सुरक्षाको ग्यारेण्टी राज्यले लिनुपर्ने उनीहरुको माग छ ।
टिप्पणीहरू