दशैँको टीका लगाएर फर्केका वीरबहादुरले श्रीमती छप्काए

दशैँको टीका लगाएर फर्केका वीरबहादुरले श्रीमती छप्काए

दशैँको टीका लगाएर अत्याधिक मदिरा सेवन गरी झापाका एक व्यक्तिले श्रीमतीको ज्यान लिएका छन् । 

अर्जुनधारा नगरपालिका-३ का वीरबहादुर चौहानले श्रीमती मुना चौहानको घाँटी रेटेर हत्या गरेका हुन् । हिजो दुई बजेतिर छिमेकीको घरमा टिका लगाउन गएका वीरबहादुर त्यसको केही समयपछि मदिराले लठ्ठिएर घर फर्केको र श्रीमतीमाथि धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिए । 

‘छिमेकीको घरमा टिका लगाएर घर फर्कदा फलाम हतिहार (उखु काट्न प्रयोग हुने)ले प्रहार गरेको पाइयो्’, एसपी केसीले जनआस्थासँग भने, ‘श्रीमती मुनाको घटनास्थलमै मृत्यु भएको हो, हामीलाई ३ बजेतिर खबर प्राप्त भएको थियो ।’

श्रीमतीमाथि आक्रमण गरेपछि स्थानीयलाई तर्साएर भागेका उनलाई प्रहरीले झुकेखाडी जंगलबाट नियन्त्रणमा लिएको हो । 

४६ वर्षीय वीरबहादुर र ३७ वर्षीय मुनाको सन्तान नभएको र त्यसैको निहुँमा झगडा हुँदा हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसअघि पनि श्रीमतीको कारण सन्तान नभएकै भन्दै वीरबहादुरले यातना दिने गरेको अनुसन्धानबाट खुलेको छ । 

‘उहाँहरुको बच्चा रहेनछ, त्यसको बाहनामा पहिले पनि झगडा हुने गरेको रहेछ’, एसपी केसीले थपे । 

वीरबहादुरमाथि अनुसन्धान भैरहेको र मृतकको शव माइती पक्षले जिम्मा लिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू