विदेश जान लागेका धरानका मेयरले उपमेयरलाई गरेनन् विश्वास

विदेश जान लागेका धरानका मेयरले उपमेयरलाई गरेनन् विश्वास

सामान्यत: पालिकामा प्रमुख बिदामा बस्दा उपप्रमुखलाई कार्यवाहक तोक्ने अभ्यास रहँदै आएको छ । तर, विदेश जान लागेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भने उपमेयरलाई नभई आफूनिकट वडाध्यक्षलाई कार्यवाहक सुम्पिएका छन् । 

आफू बेलायत जान लागेको जानकारी गराउँदै उनले उताबाट नफर्किउन्जेल वडा नं ११ का वडाध्क्ष लोकेन्द्र फागूले कार्यवाहक पाएको बताएका छन् । मेयर साम्पाङले वडाध्यक्ष फागूलाई कार्यवाहक जिम्मेवारीको हैसियतले के-के गर्ने र के नगर्ने भन्नेबारे पाँच बुँदे निर्देशनसमेत दिएका छन् । 

स्वतन्त्र उम्मेदवार भई मेयर जितेका साम्पाङ र माओवादी केन्द्रबाट उपमेयर निर्वाचित आइन्द्रविक्रम बेघाबीच मनमुटाव छ । केही महिनाअघि कार्यपालिका बैठकमा यी दुईबीच चर्काचर्की परेको थियो । 

मेयर साम्पाङले पार्टीको मात्रै काम गरेको आरोप लगाएपछि खण्डन गर्दै उपमेयर बेघाले भनेका थिए, ‘जसले बोक्छ उसको टाउकोमा दिसा पिसाब गर्दै नहिड्नुस्, मलाई उपमेयर तपाईले बनाएको हो ? कानुनबाहिरको तपाईँको आदेश मान्दिनँ ।’ उपमेयरले यसो भनेपछि साम्पाङ बैठकमै बेस्कन रिसाएका थिए । 

शुरुवाती दिनमा मिलेर काम गरेका यी दुईको यस बैठकपछि सौहार्दपूर्ण सम्बन्ध रहेन । त्यसैले विदेश जान लागेका साम्पाङले उपमेयरलाई विश्वास नगरेर वडाध्यक्ष रोजेका हुन् ।

टिप्पणीहरू