मारवाडीले हडपेको धर्मशाला खालि नगर्न सरकारको निर्देशन

मारवाडीले हडपेको धर्मशाला खालि नगर्न सरकारको निर्देशन

मारवाडीहरुले हडपेको गौशालास्थित पशुपति धर्मशाला खालि गर्ने कार्य तत्काल रोक्न सरकारले निर्देशन दिएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषलाई पत्र लेखेर धर्मशाला खाली गर्ने कार्य अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन भनेको हो । 

धर्मशाला खालि गराउने विषय विवादमा परेको र त्यसले पशुपतिनाथको पवित्र क्षेत्रको शान्ति सुरक्षामा समस्या उत्पन्न गरेको जनाउँदै मन्त्रालयले यसबारे छलफल गर्न कात्तिक ४ गते परिषद् बैठक पनि डाकेको छ । त्यतिन्जेलसम्म धर्मशाला खालि गर्ने यसअघिको निर्णय स्थगन गर्न मन्त्रालयको निर्देशन छ । 

काठमाडौं जिल्ला अदालतले केही दिनअघि पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीचको धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजीको निर्णय सदर गरेको थियो । त्यसपछि धर्मशाला सञ्चालन/व्यवस्थापनको जिम्मा काठमाडौँ महानगरपालिकालाई दिने निर्णय कोषले गरेको छ । 

तर, मारवाडी सेवा समिति अदालतको आदेश र कोषको निर्णयको विरुद्धमा उभिएपछि कार्यान्वयन हुन सकेको छैन । असोज २३ गते धर्मशाला खालि गराउन पुगेको महानगर प्रहरी टोलीलाई उनीहरुले समुदायले अवरोध गरेका थिए । अवरोधबीच धर्मशालाबाट मारवाडी सेवा समितिको बोर्ड हटाएर महानगरको बोर्ड झुण्डाइएको छ ।

धर्मशाला संचालनको जिम्मा आफू मातहत ल्याउने निर्णय कार्यान्वयन गराउने प्रयासस्वरूप महानगर प्रहरी अस्ति र हिजो पनि गौशाला पुगेका थिए । मारवाडीहरुको निरन्तरको अवरोधपछि महानगरले धर्मशाला खाली गराउन स्थानीय प्रशासनको सहयोग पनि खोजेको थियो । तर, जिल्ला प्रशासन कार्यालयले सहयोग उपलब्ध गराएन । 

स्थानीय प्रशासनको सहयोग नपाएका कारण धर्मशाला खालि हुन नसकेको महानगरले गुनासो गरिरहेका बेला मन्त्रालयको यस्तो निर्देशन आएको हो ।

टिप्पणीहरू