डेढ दर्जन सहकारीका ऋणीलाई अन्तिम मौका

डेढ दर्जन सहकारीका ऋणीलाई अन्तिम मौका

समस्याग्रस्त घोषित भएका डेढ दर्जन सहकारी संस्थाका ऋणीलाई कर्जा चुक्ता गर्न १५ दिने अल्टिमेटम दिइएको छ । 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज सूचना जारी गर्दै १८ वटा त्यस्ता सहकारीका ऋणीलाई आगामी पन्ध्र दिनभित्र ऋण चुक्ता गर्न निर्देशन दिएको हो । 

सूचनामा यसअघि पटक–पटक ऋण तिर्न ताकेता गर्दा अधिकांश ऋणी सम्पर्कमा समेत नआएको जनाउँदै अन्तिम पटक १५ दिनको समय दिइएको उल्लेख छ । तोकिएको अवधिभित्र ऋण चुक्ता नगरे ऋणीसँगै जमानकर्ताको एकाघर/परिवारको सम्पत्ति, बैंक खाता रोक्का गर्नुका साथै कालोसूचीमा राख्ने चेतावनी समितिले दिएको छ । 

‘सो अवधिसम्म पनि ऋणीहरु र जमानीकर्ताहरुले आफ्नो दायित्व तिर्न बुझाउन नआएमा निज ऋणी र निजका एकाघरका परिवारको श्री सम्पत्ति, बैंक खाता तत्काल रोक्का गर्ने, कालोसूचीमा राख्ने र रोक्का राखिएको सम्पत्ति र बैंक खाताबाट सहकारी ऐन, २०७४ को दफा ११५ को उपदफा (१) को देहाय खण्ड (क) (ख) (ग) सहकारी नियमावली, २०७५ बमोजिमको कारबाही बढाई ऋण असुलउपर गरिने हुँदा सरोकारवालाको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा भनिएको छ । 

समितिले समस्याग्रस्त घोषित भएका स्टाण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेण्ट को–अपरेटिभ, सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था, प्रभु बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, ओरेण्टल को–अपरेटिझ कञ्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्थाका ऋणीलाई ऋण तिर्न अन्तिम अवसर प्रदान गरेको हो । 

त्यस्तै, तुलसी बहुमुखी सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था, लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था र पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभका ऋणीलाई पनि कर्जा चुक्ता गर्न भनेको छ ।

टिप्पणीहरू