चिनियाँ पाहुना टोली बूढानीलकण्ठपछि खुमलटारमा

चिनियाँ पाहुना टोली बूढानीलकण्ठपछि खुमलटारमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीको छिङहाइ प्रान्तीय कमिटीका सचिव तथा केन्द्रीय सदस्य छन् काङ्गले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा नेपाल र चीनबीच भएका यसअघिका समझदारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताउनुभएको छ ।

दाहाल निवास खुमलटारमा भएको भेटवार्तामा उहाँले नेपालको आन्तरिक राजनीतिमा केही उतारचढाव आए पनि आफ्नो पालामा दुई देशबीच भएका समझदारी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उहाँको सचिवालयले जनाएको छ । आफूहरुले गणतन्त्र स्थापनाका लागि थालेको जनयुद्धका बेलामा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास र माओत्सेतुङका रचनाहरुको धेरै अध्ययन गरेको उल्लेख गर्दै भन्नुभयो, ‘नेपाली विशेषतासहितको समाजवाद स्थापनाका लागि चिनियाँ समाजवादबाट धेरै कुरा सिक्न आफ्नो पार्टी इच्छुक छ ।’

प्रत्युत्तरमा सचिव काङ्गले दुई देशबीचको मित्रता थप बढाउनुपर्ने बताउँदै चीन नयाँ विकासको चरणमा रहेकाले नेपालले पनि चिनियाँ विकासको लाभ लिनसक्नेतर्फ सुझाउनुभयो ।

चीनको विकासको मुख्य कारण चिनियाँ कम्युनिष्ट पार्टी भएको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीका जुनसुकै नेताले भ्रष्टाचार लगायतका गल्ती गर्दा कारवाही गरेकाले चिनियाँ जनताको विश्वास बढेको बताउनुभयो । भेटवार्तामा माओवादी केन्द्रका तर्फबाट वरिष्ठ उपाध्यक्ष नारायकणकाजी श्रेष्ठ, उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिवद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतलगायतको उपस्थिति थियो । 

चिनियाँ प्रतिनिधिमण्डलको तर्फबाट सचिव काङ, नेपालस्थित चिनियाँ राजदूत छन् सोङ्गलगायत प्रतिनिधिमण्डलका सदस्यहरुको उपस्थिति थियो । यसअघि उक्त टोलीले नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेट गरेको थियो ।

टोली आज बिहान एअर चाइनाको उडान नम्बर सिए ४३७ मा सिचुआन प्रान्तको राजधानी छन्तुबाट काठमाडौं आइपुगेको हो । सचिव काङ र चिनियाँ प्रतिनिधिमण्डलका सदस्यहरुको सम्मानमा एमाले महासचिव शंकर पोखरेलले आज साँझ होटल द्वारिकामा रात्रिभोजको आयोजना गर्नुभएको छ । 

टोलीको भोलि बिहान पौने ९ बजे बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटको कार्यक्रम छ । त्यसपछि चिनियाँ पाहुनाहरु नजिकैको चिनियाँ दूतावास पुग्ने र दिउँसो साढे २ बजे होटल याक एण्ड यतिमा हुन लागेको सम्मेलनमा सहभागी हुने बताइएको छ । सचिव छन भोलि अपरान्ह साढे ४ बजे श्री जनकल्याण माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनुहुने छ ।

टोली भोलि नै साँझ साढे ५ बजे बत्तिसपुतलीस्थित बाजेको सेकुवामा डिनर खाएपछि ७ बजे काठमाडौं दरबार स्क्वायरको भ्रमणमा जाने छ । पर्सि बिहान स्वयम्भू अवलोकन भ्रमण, त्यसपछि भक्तपुर दरबार स्क्वायरको अवलोकनसँगै भक्तपुरमा नै लञ्चको कार्यक्रम छ । 

त्यहाँबाट सोझै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर चिनियाँ टोली दिउँसो साढे १ बजे थाइ एअरवेजको उडान नम्बर टिजी ३२० मा बैंकक हुँदै स्वदेश फर्कने छ । पाहुना टोलीलाई नागपोखरीस्थित होटल मेरियटमा बस्ने प्रबन्ध मिलाइएको छ ।
 

टिप्पणीहरू