सभापति थुनामा, महिला सांसदहरु मन्द मुस्कानमा

सभापति थुनामा, महिला सांसदहरु मन्द मुस्कानमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री एवम् सांसद रवि लामिछाने हिजो रातिदेखि प्रहरी हिरासतमा छन् । काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेर राति नै उनलाई पोखरा लगिएको थियो ।

सहकारी ठगी र संगठित अपराधको आरोपमा थप अनुसन्धान गर्न लागिएका रविको समर्थनमा उनका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन् । उपसभापतिलगायत अधिकांश पदाधिकारीहरु आज दिउँसोसम्म पोखरा पुगेको अवस्था छ । 

दिउँसो चिप्लेढुंगामा आयोजित विरोध सभामा सहप्रवक्ता मनिष झाले आफूहरु शहीद बन्न तयार रहेको बताएका थिए । झाले भ्रष्टाचार अन्त्य र सुशासनका लागि सभापतिसँगै आफूहरु पनि मर्न तयार रहेको दाबी गरेको बेला केही महिला सांसद भने सेल्फी खिच्दै मुस्कुराइरहेका थिए ।

"सांसदहरुले सेल्फी खिचिरहँदा मनिष झाले दलहरुलाई ठीक पार्ने उद्घोष गर्दै थिए ।"

सेल्फी खिच्न सांसद तथा नेतृ तोसिमा कार्की आज बिहान विमान चढेर पोखरा पुगेकी थिइन् भने दिउँसो पूर्वमन्त्री तथा नेता विराजभक्त श्रेष्ठलगायत गए । न्युज 24 मा छँदा नै रविलाई कार उपहार चढाउने उपसभापति डिपी अर्याललगायत केही नेताचाहिँ हिजै राति पोखरा गएका थिए ।

सांसदहरुले सेल्फी खिचिरहँदा मनिष झाले दलहरुलाई ठीक पार्ने उद्घोष गर्दै थिए । हिजो पक्राउ पर्नुअघि रविले आफूलाई जिउँदो छाडे भ्रष्टहरुलाई तह लगाउने बताएको सन्दर्भमा झाले रवि दाइ मर्न तयार भए आफूसमेत सती जान राजी रहेको बताएका थिए ।

आफ्नो दलको अहिलेसम्म कोही शहीद नभएकाले शहीद बन्न तयार रहेको उनको भनाई थियो । उपसभापति डिपी अर्यालले रवि लामिछानेले न्याय पाउनेमा निर्धक्क रहेको जनाउँदै भने, ‘हामीलाई न्यायालयप्रति विश्वास छ । सरकार मरे पनि न्यायालय मरेको छैन ।’

टिप्पणीहरू