अमेरिकी चुनावमा हिन्दु मतदाता रिझाउँने होडबाजी
अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिकिंदै गर्दा उम्मेदवारहरुले हिन्दु मतदाता आकर्षित गर्न प्रचार केन्द्रित गरिरहेका छन् । हिन्दुहरुको पर्व दिपावलीको मौका छोपेर राष्ट्रपतिका दुबै उम्मेदवारले चुनावी प्रचार गरेका हुन् ।
राष्ट्रपति जो बाइडेनले गत सोमबार दिपावलीकै अवसर पारेर ह्वाइट हाउसमा भब्य दिप प्रज्वलनको आयोजना गरेका थिए । त्यसयता हरेक दिन साँझ विभिन्न पार्टीका नेता तथा पूर्वमन्त्रीहरु ह्वाइट हाउसमा पुगेर साँझ दियो प्रज्वलन गरिरहेका छन् । यो थप एक/दुई दिनसम्म चल्ने बताइएको छ ।
पूर्वराष्ट्रपति बाराक ओबामा र डोनाल्ड ट्रम्पको पालामा पनि ह्वाइट हाउसमा दिपावली मनाइएको थियो । तर, राष्ट्रपति बाइडेनले अहिलेसम्मकै बृहत ढंगले ह्वाइट हाउसमा दिपावली मनाइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सोमबार पहिलो दिन छ सय बढी हिन्दु धर्मालम्बीहरु ह्वाइट हाउस पुगेको बताइएको छ ।
यसबीच डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार कमला ह्यारिस र रिपब्लिकनका डोनाल्ड ट्रम्प पनि ह्वाइट हाउस पुगेर दियो बालेका छन् । ह्यारिस वर्तमान उपराष्ट्रपतिसमेत हुन् भने ट्रम्प पूर्वराष्ट्रपति हुन् ।
हिन्दु धर्मालम्बीहरुलाई शुभकामना दिँदै ह्यारिसले अमेरिकाको उज्यालोको लागि आफूलाई भोट दिन अपील गरेकी छन् । भनेकी छन्, 'यो दियो उज्यालोको संकेत हो । यसले अध्यारोलाई परास्त गर्छ । अब अमेरिकाको उज्यालोको लागि तपाईहरुको साथको अपेक्षा गर्छु ।'
उनले भारतको माटो कहिल्यै बिर्सन नसक्ने भन्दै भारतीय अमेरिकीहरुको हक हितमा काम गर्ने प्रतिबद्धता पनि जनाइन्।
ट्रम्पले पनि हिन्दुहरुको संस्कारबाट आफू सँधै प्रभावित रहेको बताए । साथै, भारतीय अमेरिकीहरुलाई सम्बोधन गर्दै भने, 'भारतका प्रधामन्त्री नरेन्द्र मोदी मेरो घनिष्ट मित्र हुनुहुन्छ । भारतसँगको सम्बन्ध थप बलियो बनाउन मलाई तपाईहरुको सहयोगको आवश्यकता छ । आशा छ, पक्कै मैले त्यो मौका पाउनेछु ।'
उनले बंगलादेशमा हिन्दुमाथि भइरहेको ज्यातदीको निन्दासमेत गरे ।
टिप्पणीहरू