रवि लामिछानेद्वारा पोखरामा निरन्तर इन्कारी वयान

रवि लामिछानेद्वारा पोखरामा निरन्तर इन्कारी वयान

सूर्यदर्शन सहकारीको बचत अपचलनमा संलग्नताको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले इन्कारी बयान दिएका छन् । दोस्रो पटक म्याद थप गरी अनुसन्धान जारी रहँदा उनले आरोप अस्वीकार गर्दै बयान दिएका हुन् ।  

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुखको रोहबरमा जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृतले बयान लिइरहेका छन् । तर,लामिछानेले बयानका क्रममा सोधिएका प्रश्नमा 'मलाई थाहा छैन' भनी अभियोग इन्कार गरेको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जानकारी दिएको छ । 'अहिलेसम्म नयाँ तथ्य खुलाएका छैनन्', स्रोतले भन्यो । 

लामिछानेमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम,चितवनको सहारा, काठमाडौँको स्वर्णलक्ष्मी,वीरगन्जको सानो पाइला सहकारीबाट गोरखा मिडिया नेटवर्कमा पुर्याइएको करोडौँ रकम अपचलन गरेको आरोप छ । उनीविरुद्ध सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान केन्द्रित गरेको छ । 

अनुसन्धान अधिकृतहरुले पनि त्यसमा आधारित भएर प्रश्न सोध्ने गरेका छन् । तर,लामिछानेले यसअघि संसदीय समिति र कास्की प्रहरीले सोधपुछ गर्दा दिएकै बयान दोहोर्याएका छन् ।

'प्रोफेसनल क्रिमिनल र ह्वाइट-कलर क्राइममा विभिन्न क्राइम पर्छन्, यो पनि त्यसैअन्तर्गत हो', उनै वकिलले भने, 'यस्तोमा प्रतिवादीले बोलेको कुरा नै प्रमाण हुने भएकाले हत्तपत्त बोल्दैनन्, बोल्यो भने प्रमाणको भार उसैले बोक्नुपर्ने  हुन्छ । रविजीमा त्यसको ज्ञान भएरै बयानमा नबोल्नुभएको होला ।' 

आफ्नो नाममा खडा गरिएको ऋण र प्रवाह भएको भनिएका रकमको सम्बन्धमा आफ्नो हस्ताक्षर,आफ्नो कागजात,नागरिकतासहितका विवरण समावेश नरहेको उनको दाबी रहँदै आएको छ । बयानका क्रममा पनि उनले 'मलाई थाहा छैन', 'म थिइन', 'हुँदै हैन' जस्ता जवाफ दिइरहेको र नयाँ तथ्य नखुलेको स्रोतले बतायो ।

 

'बयानमा थप नयाँ कुरा आएको छैन । संसदीय समितिमा दिएकै बयान दोहोर्याएको छ । सोधिएका प्रश्नको पनि राम्रोसंग जवाफ दिएका छैनन्', स्रोतले भन्यो, 'संसदीय छानविन समिति र पहिला प्रहरीले पोखरामा गरेको सोधपुछमा भन्दा एउटा पनि दायाँबायाँ छैन ।' 

रुपन्देही अदालतले सुप्रिम सहकारीको ठगीमा लामिछानेविरुद्ध पक्राउ अनुमति दिइसकेकाले यताको अनुसन्धान छिट्टै सकेर उता लैजाने प्रहरीको तयारी छ । तर, बयान लम्बिए पुन: म्याद थपेर प्रहरीले अनुसन्धान जारी राख्नेछ । 

के लामिछानेले इन्कारी बयान दिएकाले अनुसन्धान लम्बिने अवस्था आएको हो ? फौजदारी कानुनका जानकारहरु प्रतिवादीले इन्कारी बयान दिएकै कारण अनुसन्धान लम्बिने अवस्था नरहने बताउँछन् । अझ संगठित अपराध अनुसन्धानमा इन्कारी बयानलाई सामान्य रुपमा बुझ्नुपर्ने उनीहरुको भनाई छ । 

'ह्वाइट कलर क्राइममा हुने नै यही हो,कसैले पनि मैले गरेको हो भन्दैन',एकजना वरिष्ठ अधिवक्ता भन्छन्, 'परिबन्दमा परेर फसेका, योजनावद्ध अपराध नगरेकाहरुले चैं सरर बयान दिन्छन् र न्यायको अपील गर्छन् । 

ह्वाइट-कलर क्राइमलाई एक प्रकारको सिण्डिकेटमार्फत गरिने आपराधिक गतिविधि मानिन्छ । यस्ता अपराधमा धेरैको संलग्नता र राज्यको माथिल्लो तहसम्मका व्यक्तिको हात रहने गर्छ । 

'प्रोफेसनल क्रिमिनल र ह्वाइट-कलर क्राइममा विभिन्न क्राइम पर्छन्, यो पनि त्यसैअन्तर्गत हो', उनै वकिलले भने, 'यस्तोमा प्रतिवादीले बोलेको कुरा नै प्रमाण हुने भएकाले हत्तपत्त बोल्दैनन्, बोल्यो भने प्रमाणको भार उसैले बोक्नुपर्ने  हुन्छ । रविजीमा त्यसको ज्ञान भएरै बयानमा नबोल्नुभएको होला ।'

तर, प्रतिवादीले इन्कारी बयान दिँदैमा कसुरबाट उन्मुक्ति पाउने अवस्था भने हुँदैन । परिस्थितिजन्य प्रमाण,प्राप्त सबुत (भौतिक, डिजिटल र फरेन्सिक), अरु मान्छेले दिएका बयान र सबुत भेरिफिकेसनबाट त्यसलाई भौतिक प्रमाणमा जोडेर अनुसन्धानकर्ताले प्रमाण संकलन गर्न सक्छ । 

'फौजदारी क्रिमिनल जस्टिस सिष्टममा एभिडेन्स क्रियट हैन कलेक्सन गर्दै मूल प्रमाणमा जोइनिङ्ग गरिन्छ । त्यसमाथि प्रहरीको बयान त एउटा वेआउट मात्र हो । अदालतमा गर्ने बयान नै अन्तिम हुन्छ', ती कानुन व्यवसायीले भने ।  

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दासमेत लाग्ने अवस्था रहेकाले प्रभावकारी अनुसन्धान गर्नुपर्ने जिम्मेवारी प्रहरीलाई छ । किनभने मनि लाउन्डरिङ र संगठित अपराधलाई अन्तराष्ट्रिय रुपमा पनि गम्भीर प्रकारको अपराध मानिन्छ । सम्पत्ति शुद्धिकरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एएफटीएफ) ले अहिले पनि नेपाललाई 'ग्रे लिष्ट'मा राखेको अवस्था छ । 

यस्तोमा पूर्वगृहमन्त्रीजस्तो मान्छेलाई पनि हामीले अनुसन्धानको दायरामा ल्याएर कानुनबमोजिम गर्यौँ भन्ने सन्देश दिन र एएफटीएफको 'ग्रे लिष्ट'बाट हटाउने अवसर पनि हो यो मुद्दा ।

टिप्पणीहरू