लैङ्गिक हिंसाविरुद्धको कार्यक्रममा महिला सदस्यद्वारा बबाल
राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको कार्यक्रममा महिला सदस्यको स्वागत मन्तव्यले मन्त्रीको अनुहार एकाएक रातोपिरो भयो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित कार्यक्रममा उक्त अवस्था आइपरेको हो ।
आयोगले राजधानीमा आयोजना गरेको कार्यक्रम बिहान ११ बजेदेखि प्रारम्भ हुने भनिएपनि १२ बजेर २० मीनेटमा शुरु भयो । अभियानको उद्घाटन सत्र भएकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रित गरिएको थियो ।
मन्त्रीसँगै मन्त्रालयका सचिव दिनेश भट्टराई, गृहका सहसचिव, चार जना सांसद, मानसिक अस्पतालका प्रतिनिधि, नायव महान्यायाधिवक्ता, डा.अरुणा उप्रेतीलगायत थुप्रै उच्च पदस्थहरुको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य आयोगका अध्यक्ष कमला पराजुलीले राख्ने कार्यक्रम थियो ।
उनी स्वागत मन्तव्य तयार पारेर कार्यक्रममा पुगेकी थिइन् । अन्तिम समयमा आयोगको सदस्य कृष्णकुमारी पौडेल खतिवडाले आफूलाई स्वागत् मन्तव्य भन्न दिनुपर्ने ढिपी कसिन् । स्वागत मन्तव्यका लागि तीन मीनेट समय दिइएकोमा उनले आधा घण्टा बोलिन् ।
उनले प्रसङ्गभन्दा बाहिरको कुरा निकाल्दै ‘आधा घण्टासम्म तथानाम बोलेपछि’ मन्त्री र सचिव हेरेको हेर्यै भएका हुन् । उनको मन्तव्यमा अराजकता, असभ्यता, उदण्डता मात्र सुनिएको आयोगकी एक पदाधिकारीले बताइन् ।
खतिवडाको कारण महत्वपूर्ण कार्यक्रम एकैछिनमा तहसनहस उनको भनाई छ । अध्यक्ष पराजुलीलाई पनि तथानाम गाली गरिएको बताइन्छ । ‘म त अचम्ममा परेँ । उहाँको त्यो व्यवहार अराजकताको पराकाष्ठ हो । मन्त्रीको सामुन्ने उहाँले तथानाम बोल्नुभयो । त्यस्तो भव्य कार्यक्रम खल्लो बनाइदिनुभयो । संवैधानिक आयोगको सदस्यको मर्यादासमेत उहाँले कायम गर्नुभएन’,जनआस्थासँग कुराकानीको क्रममा उनले भनिन् ।
मन्त्रीकै अगाडि सचिवलाई सोध्दै ‘तपाईंहरुले वैदेशिक भ्रमणमा जाँदा खर्च पाउने, मैले किन नपाउने ?’,भन्दै असन्तुष्टि पोखेकी हुुन् । आयोगमा आफूमाथि विभेद, अन्याय भएको पनि उनले बताइन् ।
‘हामीले सचिवज्यूसँग बसेर काम गर्नुपर्छ । हरेक बैठकमा सचिवज्यू उपस्थित हुनुहुन्छ । उहाँले सचिवज्यूलाई नै कस्नुभयो’, असन्तुष्टि जनाउँदै आयोगका पदाधिकारी भन्छन्, ‘अब सचिवज्यूसँग कसरी नजर मिलाउनुहोला । केही असन्तुष्टि छ भने पछि छलफल गरेको भए हुन्थ्यो । त्यत्रो सहभागीको अगाडि घोर बेइज्जत भयो ।’
आयोगका सूचना अधिकारी टंक भट्टराईले खतिवडाले मन्तव्यको क्रममा देखाएको व्यवहार सभ्य नभएको बताए । ‘एक सदस्यले मन्तव्यको क्रममा असन्तुष्टि पोख्नुभएको थियो । त्यो अलिक असभ्य देखियो । अरु त त्यस्तो केही होइन’,उनले भने ।
यता, सदस्य खतिवडाले आज मात्र नभई आफूले दैनिक असन्तुष्टि पोख्दै आएको बताइन् । भन्छिन्,‘आजको कार्यक्रममा स्वागत मन्तव्य मैले नै दिएकी हुँ । त्यहाँ मात्र होइन, मैले कार्यालयमा पनि असन्तुष्टि पोख्दै आएकी छु ।’
गल्ती गर्ने अनि अन्यायमा परेँ भन्ने !
‘जो चोर,उसैको ठूलो स्वर’ भनेझैँ खतिवडाले यतिबेला त्यस्तै हर्कत गरिरहेकी छन् । उनी गत वर्ष भ्रमण आदेश स्वीकृतिबिना अमेरिका भ्रमणमा गएकी थिइन् । कसैलाई जानकारी नगराई अमेरिका पुगेकी उनले फर्किएपछि भ्रमण खर्चको माग गर्न थालिन् । तर, उनी स्वीकृति नलिइकन गएको भएकाले भ्रमण खर्च दिइएन ।
त्यसविरुद्ध उनी उच्च अदालत, पाटन पुगिन् । आफूलाई भ्रमण खर्च दिलाइदिन भन्दै उनले दायर गरेको दर्ता नम्बर ०८०–डब्ल्युओ–२४०३ रहेको रिट अदालतले खारेज गरिदिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोगको अध्यक्ष र सचिवसमेतलाई विपक्षी बनाइएको थियो ।
उच्चका न्यायाधीशद्धय प्रकाश खरेल र विदूर कोइरालाको संयुक्त इजलासले रिट खारेज गरिदिएको हो । आफूले भ्रमण खर्च नपाएकोमा अध्यक्षलाई कार्यकक्षमै थर्काउने गरेकी उनले आज मन्त्रीको सामुन्ने रिस पोखेको बुझिन्छ । ‘आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको बहिनी’ भन्दै आएकी उनीबाट आयोगको कर्मचारीसमेत डराउनुपर्ने स्थिति छ ।
टिप्पणीहरू