मामाको पावरले भाञ्जालाई मोज

मामाको पावरले भाञ्जालाई मोज

सत्तारुढ दलका महासचिव मामा परेपछि भान्जालाई के को चिन्ता ! न विधि चाहियो, न नैतिकता !

दाङको बेलझण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव माधव अधिकारीको कथा हो, यो । चारवर्षे कार्यकालमा एक दर्जन बढी विवादमा तानिएका सत्तारुढ एमाले महासचिव शंकर पोखरेलका भान्जा उनी हिजो फेरि दोस्रो कार्यकार्यलका लागि कुलसचिव नियुक्त भएका छन् । 

सत्ता र शक्तिको प्रयोग गरेर उनले कुलसचिवको नियुक्ति लिएपछि विश्वविद्यालयका विद्यार्थी र प्राध्यापकहरु भने असुन्तष्ट देखिएका छन् । एमाले निकटकै प्राध्यापकहरु समेत खुसि नरहेको अवस्था छ । 

मामा (महासचिव पोखरेल)को राजनीतिक शक्तिको आडमा अधिकारीले विश्वविद्यालयका पदाधिकारीलाई मर्यादा विपरित सोधपुछ गरेको तथा धम्क्याएको, कार्यकारी परिषद्को बैठक चलिरहेको बेला शिक्षाध्यक्षमाथि दुव्र्यवहार गरेको, आर्थिक र प्रशासनिक अनियमितता गरेको, विश्वविद्यालयको गरिमामा आच आउने काम गरेको लगायतका आरोप छ । 

गत असार १४ गते विश्वविद्यालयका तत्कालीन उपकुलपति (भिसी) प्रा.डा यादवप्रकाश लामिछानेले अधिकारीलाई स्पष्टीकरण सोधेका थिए । तर, चित्तबुझ्दो जवाफ नदिएपछि असार २३ गते पुनः तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिएको थियो । 

अधिकारीले भने उपकुलपति लामिछानेमाथि नै दबाब सिर्जना गर्न एमाले निकट विद्यार्थी नेता प्रयोग गरेर विश्वविद्यालयमा अराजक गतिविधि चलाए । स्पष्टीकरणको जवाफ दिनुकोसट्टा राजनीतिक शक्ति प्रयोग गर्न खोजेपछि उनलाई असार २६ गते २० दिनको लागि निलम्बन गरिएको थियो । तर साउन १६ गते पुन: कार्यालयमा हाजिर भए । 

मामा तथा महासचिव पोखरेलमार्फत सम्पूर्ण शक्ति लगाएका उनले तत्कालीन उपकुलपति लामिछानेलाई राजीनामा दिन बाध्य पारेको जानकारहरु बताउँछन् । पोखरेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसम्म कुरा पुर्याएको स्रोतको दाबी छ । 

त्यसो त, लामिछानेलाई प्रधानमन्त्री ओलीले नै उपकुलपति नियुक्त गरेका थिए । तर, अधिकारीले बखेडा निकालेपछि भदौ १ गते राजीनामा दिइसकेका छन् । 

उनको राजीनामापछि सरकारले तीन महिनाको लागि प्रा.डा भीमप्रसाद खतिवडालाई उपकुलपति तोकेको थियो । अहिले उनै खतिवडा र एमाले महासचिव पोखरेलको सहजीकरणले अधिकारीले दोहोर्याएर कुलसचिवको नियुक्ति बुझेका हुन् । चार वर्षे कार्यकाल हिजोबाट समाप्त भएकोमा उनले तात्तातै हिजै नियुक्ति पाए । 

अस्तिसम्म वास्तु इन्जिनियरिङका डीन विरेन्द्र खड्कालाई निमित्त कुलसचिव नियुक्त गर्ने तयारी थियो । तर, अन्तिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ४ वटा मुद्धा विचारधीन रहेको र एक दर्जन आरोप लागेको अधिकारीलाई पुनः कुलसचिव बनाएपछि एमाले निकट प्राध्यापकहरु रुष्ट बन्न पुगेका छन् ।

टिप्पणीहरू