झण्डा गन्दै निर्वाचन आयोग

झण्डा गन्दै निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तहको आगामी उपनिर्वाचनको प्रचारप्रसारमा १० वटाभन्दा बढी झण्डाको प्रयोग नगर्न निर्देशन दिएको छ । प्रचारप्रसारमा आचारसंहिताको पालना नगरिएकाले आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता, २०७९ को पूर्ण पालना निर्देशन र सचेत गराएको छ ।

आयोगले १० वटाभन्दा बढी झण्डाको प्रयोग गर्न नपाउनेबारे स्पष्ट पारेको छ । त्यसैगरी, प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड नराख्न, श्रव्यसामग्री नबजाउन र प्रदर्शन नगर्न पनि राजनीतिक दल र उम्मेदवारलाई आयोगले भनेको छ । 

‘निर्वाचन आचारसंहिता, २०७९ अनुसार झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ्गभन्दा फरक हुन नहुने, प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्यसामग्री र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने, दश दश वटासम्म झण्डा र चुनाव चिन्हभन्दा बढी प्रयोग गर्न नपाइने विषयलाई पूर्ण पालना गर्न गराउन निर्देशन गरिएको छ’, आज जारी विज्ञप्तिमा उल्लेख छ । 

कसैले आचारसंहिताविपरीतको कार्य गरेको पाइएमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ बमोजिम कारबाही गर्न आयोगले नियामक निकायलाई निर्देशन दिएको छ । त्यस्तै, आयोगबाट पनि कारबाही गरिने चेतावनी दिइएको छ ।

टिप्पणीहरू