दुर्गा प्रसाईंको ‘विशेष खुलासा’ : जिबीलाई धुलिखेलको रिसोर्टमा लुकाइयो
आफूलाई राजावादी अभियन्ता भन्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सहकारी ठगी प्रकरणका फरार अभियुक्त जिबी राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीको संरक्षणमा लुकाइएको आरोप लगाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेल हाल्ने पक्का भएपछि सरकारले लोकप्रियताको निम्ति जिबीलाई आत्मसमर्पण गराउन लागेको उनको ठोकुवा छ । प्रसाईंले ‘विशेष खुलासा’ भन्दै रवि पक्राउ पर्नुभन्दा पाँच दिनअघि जिबीलाई नेपाल ल्याइएको दावीसमेत गरे ।
‘रवि लामिछाने पक्राउ पर्नु ५ दिन अगाडि जिबीलाई नेपाल ल्याइएको थियो,’ प्रसाईंले भनेका छन्, ‘काभ्रेको धुलिखेलको एक रिसोर्टमा उनलाई राखिएको थियो, यो काम एमाले र काँग्रेसका नेताको सक्रियतामा भएको थियो।’
रवि छुट्न सक्ने भएकाले प्रधानमन्त्रीकै निर्देशनमा जिबीलाई तत्कालको लागि सुरक्षित रुपमा राखिएको उनको जिकिर छ । ‘सहकारी ठगी काण्डमा रवि लामिछाने जेल जाने पक्का भएपछि जिबीलाई सहकारीको सबै पैसा तिर्ने सर्तमा सरकारले छुट दिने गरी नेपाल ल्याएको हो,’ उनले थपेका छन्।
यो सबै खेलोफड्को प्रधानमन्त्री ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी तथा परराष्ट्रमन्त्री आरजू राणा र गगन थापाको डिजाइनमा तयार गरिएको पनि उनको दावी छ । कांग्रेस महामन्त्री थापा देउवाको पोल्टामा गएको तर्क गर्दै उनले भने, ‘यसको प्रमाण के पनि हो भने अहिले शेरबहादुरले गर्ने हरेक निर्णयमा गगन थापासँगै छन् ।’
टिप्पणीहरू