सरकारी वकिल २५ दिन माग्ने,रविका वकिल अहिल्यै छाड्नु भन्ने
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित चार जनालाई थप १० दिन म्याद थप गरेको हो ।
राजनीतिमा आउनुअघि रवि उक्त मिडियाको प्रबन्ध निर्देशक थिए । पोखरास्थित सूर्य दर्शन सहकारीको साढे ५ करोड रुपैयाँ सोही मिडियामा पुर्याएर खर्च गरेको आरोपमा लामिछानेलगायतलाई सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालिएको हो । थप एक करोड लामिछानेको नाममा सहकारीबाट गोर्खा मिडियामा जम्मा भएको पाइएको छ ।
बहसको क्रममा सरकारी वकिलले लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न अनुमति माग्दा उता लामिछानेको पक्षबाट नारायण घिमिरे,नारायण कँडेल,सुशील पन्तलगायतले बहस गर्दै बयान सकिएकाले रिहा गर्नुपर्ने धारणा राखेका थिए ।
बहसमा सहकारी पीडितहरुको तर्फबाट अधिवक्ता युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले थुनामै राखेर लामो समयसम्म अनुसन्धान गर्नुपर्ने माग राखेकोमा इजलासले लामिछाने, जोशीसँगै लीला पछाई र रामबहादुर खनालविरुद्ध १० दिनको म्याद थपेको हो ।
टिप्पणीहरू