हातहतियार बुझाउन प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले हातहतियार बुझाउन आग्रह गरेको छ । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वासनीय वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले हातहतियार बुझाउन भनेको हो ।
प्रशासनले सूचना जारी गर्दै व्यक्ति र विभिन्न समूहहरुले अवैध रुपमा राखेको हातहतियार माघ १५ गतेभित्र बुझाउन सूचित गराएको छ । ‘जिल्लास्थित विविध कारणले विभिन्न व्यक्ति तथा समूहहरुसँग अवैध रुपमा रहेका हातहतियार, खरखजाना मिति २०८२–१०–१५ गतेभित्र नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायमा बुझाउनुहुन...’,सूचनामा उल्लेख छ ।
तोकिएको समयभित्र हातहतियार नबुझाएमा कारबाही गरिने प्रशासनको चेतावनी छ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा लुटिएका सुरक्षाकर्मीको सयौं हतियार अहिलेपनि बेपत्ता छ । चुनावमा ती हतियारको दुरुपयोग हुनसक्ने जोखिम देखिएको छ ।
टिप्पणीहरू