राष्ट्रपतिसँगै विदेश जानेमा छानिए स्टोरका कर्मचारी
अजरबैजानको बाकुमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप) २९ मा राष्ट्रपति रामचन्द्र पौडेलसँगै वन मन्त्रालयको स्टोर हेर्ने कर्मचारी पनि छनौट भएका छन् ।
सम्मेलनमा विज्ञलाई छाडेर वन तथा वातावरण मन्त्रालयले आफ्नै कर्मचारीहरुको जम्बो टोलीलाई अजरबैजानको बाकु उडाउने तयारी थालेको छ । जलवायुसम्बन्धी काम गर्ने विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाको स्पोन्सर हुने उक्त भ्रमणमा मन्त्रालयले आफ्नै कर्मचारीलाई मात्र छानेको बताइन्छ ।
छानिएका कर्मचारीमा लेखादेखि स्टोरसम्मका देखिन्छन् । कात्तिक २६ देखि मंसिर ७ गतेसम्म बाकुमा हुने सम्मेलनमा भाग लिन सहसचिव सिन्धु ढुंगानासहितको एउटा टोली हिजो नै बाकु पुगेको स्रोतले बतायो । टोलीका बाँकी सदस्य केही दिनमा त्यता जाने तयारीमा छन् ।
हिजोसम्म २६ जना कर्मचारीको नाम छानिएको स्रोतको दाबी छ । ती सबैलाई बाकु पठाउन सचिव दिपक खराल, सहसचिव बुद्धि पौडेलले विभिन्न विकास साझेदार संस्थाहरुलाई प्रायोजनका लागि दवाव दिइएको बुझिन्छ ।
यस पटक मन्त्रालयले सो क्षेत्रमा काम गर्दै आएका समुदाय, नागरिक समाज, सीमान्तकृत वर्ग, मिडियालाई भने छुटाएको छ । यता वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले कर्मचारीको लामो सूची तयार हुँदा समेत मौनता साँधेका छन् । मन्त्री र सचिवको मिलेमतोमा ती नामहरु छनौट भएकाले पनि उनी मौन बसेका हुन् ।
काँग्रेस नेतृत्वले सिफारिस गरेका केही नाम समेत त्यसमा परेकाले मन्त्री चुपचाप बसेको स्रोतले उल्लेख गर्यो । बाकु पठाउन लागिएको जम्बो टोलीप्रति असन्तुष्ट एक जना सहसचिवले भने, ‘यति धेरै कर्मचारीलाई जलवायु सम्मेलनमा पठाउनुको कुनै अर्थ छैन । प्रायः ती सबै घुम्न जान लागेका हुन् । यस्तो बदमासी हुँदा समेत सबै मौन छन् ।’
उनका अनुसार बाकु घुम्न मन्त्री शाहीका छोरा राजेन्द्र शाहीसँगै सचिवालयका कर्मचारी समेत जाँदैछन् । यो बाहेक राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको बेग्लै टोलीसमेत त्यसतर्फ जाँदैछ ।
यस विषयमा मन्त्रालयका सचिव खरालसँग सम्पर्क गर्दा सबै कर्मचारीको जाने इच्छा तीव्र हुँदा व्यवस्थापन गर्नै गाह्रो परेको प्रतिक्रिया दिए । बाकु जाने टोलीमा वनका कर्मचारीहरु महेश्वर ढकाल, राजु सापकोटा, शिव खनाल,सुमन सुवेदी, नारायण पोखरेल, हिमाल शिवाकोटी, दिपा वली, मेघनाथ काफ्ले, राजेन्द्र ढुंगाना, केशवराज जोशीसहित २६ जना छन् ।
ती सबैको हवाइ टिकट र खानबस्ने सुविधाका लागि विभिन्न विकास साझेदार संस्थाहरुलाई हारगुहार गरिएको बताइन्छ ।
टिप्पणीहरू