नेताकी श्रीमती जोगाउन सहकारीको फाइल गायब पारेको आरोप
एमाले सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला संलग्न मोरङको उमागौरी कृषि सहकारीमा प्रहरीले छापा हानेको छ । कर्सियास्थित सहकारीको कार्यालयमा छापा मारेपछि कागजपत्र बरामद गरिएको जनाइएको छ ।
सहकारी सञ्चालकले बचतकर्ताको निक्षेप अपचलन गरेको आरोप लागेपछि प्रहरीले एक महिनाअघि कागजात मागेको थियो । तर, अटेर गरेर कागजात नबुझाएपछि प्रहरीले कागजपत्र नियन्त्रणमा लिएको हो ।
स्थानीय जनप्रतिनिधिको रोहबरमा गत बुधबार सहकारीको ताला फोडिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण प्रसाद चिमौरियाले जानकारी दिए । उनका अनुसार ताला फोड्नुअघि पनि सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारसहित अन्य सदस्यहरुलाई सम्पर्कको प्रयास गरिएको थियो । तर, उनीहरु कोही पनि सम्पर्कमा आएनन् ।
एसपी चिमोरियाले जनआस्थासँग भने, ‘हामीले एक डेढ महिनादेखि बारम्बार खबर गरेका छौं, तर न सञ्चालक समितिका कोही मान्छे सम्पर्कमा आए, न कोही कर्मचारी नै । अति भएपछि ताला फोड्न बाध्य भयौं ।’
उता सहकारी अध्यक्ष रौनियारले भने प्रहरी प्रशासनले गलत नियतका साथ कार्यालय कब्जा गरेको आरोप लगाएका छन् । दशैं–तिहारको बिदामा कर्मचारी नभएको मौका छोपेर प्रहरीले ताला फोडेको उनको दाबी छ ।
‘...संस्थाको ताला तोडी आक्रामक शैलीमा प्रवेश गरी संस्थालाई नै थाहा नदिइ सम्पूर्ण सामान गाडीमा राखि लगिएको छ’, रौनियारले विज्ञप्तिमार्फत् भनेका छन्, ‘संस्था अनुगमन गर्ने बहानामा संस्थाको ताला चुडाउँदा, भित्र प्रवेश गर्दा, सामान कब्जा गर्दासमेत संस्थाको अनुमति नलिएको, संस्थाको प्रतिनिधि नराखिएको, स्थानीय निकायका प्रतिनिधि नराखिएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
उनले कार्यालयको ताला फोडेकोमा आपत्ति जनाइरहँदा प्रहरीले भने सहकारी ठगी प्रकरणमा अञ्जलालाई जोगाउन सञ्चालक समितिका सदस्यहरु दत्तचित भएर लागिपरेको प्रतिक्रिया दिएको छ ।
बताइएअनुसार २०६८ सालमा एमाले सांसद पोखरेलकै नेतृत्वमा उमागौरी सहकारी स्थापना भएको थियो । तर, आफू पर्दापछाडि बसेर उनले श्रीमती अञ्जला र विश्वासपात्र रौनियारलाई अगाडि सारेको धेरैको भनाई छ । भित्रभित्रै सहकारीको हर्ताकर्ता भएकाले विभिन्न बैंकबाट ऋण व्यवस्थापन पोखरेल आफैँले गरेको स्थानीयको दाबी छ ।
अञ्जलासहितका सञ्चालक सदस्यहरुले करोडौं रकम हिनामिना गरेपछि सहकारीमा संकट आएको एक बचतकर्ताले जानकारी दिए । उनका अनुसार डेढ वर्षअघि बचतकर्ताको आग्रहमा कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले उमागौरी सहकारीमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेको थियो । त्यसपछि प्रहरीले आवश्यक प्रक्रिया अघि बढाएको हो ।
रकम हिनामिनामा अञ्जला दोषी देखिएको आरोप लाग्न थालेपछि उनी सञ्चालक सदस्य रहेको कागजात नै राजिष्ट्रार कार्यालयबाट गायब पारिएको बताइन्छ । यसबारे थप अनुसन्धान भइरहेको एसपी चिमौरियाले बताएका छन् ।
टिप्पणीहरू