यता एमाले नेतासँग सोधपुछ जारी,उता रविलाई भैरहवा लाने तयारी
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा पूर्वगृहमन्त्री एवम् गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई बयानका लागि भैरहवा लैजान लागिएको छ । हिजो कास्कीमै थप १३ दिन हिरासतमा राख्ने आदेश भएसङ्गै यही वीचको अबधिमा उनलाई रुपन्देही लैजान लागिएको बुझिएको छ ।
पोखरामा सूर्यदर्शन सहकारी र भैरहवामा सुप्रिम सहकारीको रकम अपचलनमा उनको संलग्नता भएको आरोपसहित बयान र अनुसन्धान थालिएको हो । कात्तिक २ गते काठमाडौंमा पक्राउ परेका उनी सोही रातिदेखि कास्की प्रहरीको हिरासतमा छन् । जिल्ला अदालत कास्कीले चार पटक म्याद थपिसकेको छ ।
सहकारी ठगीमा पक्राउ परेका उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धमा पनि अनुसन्धान भइरहेको बताइन्छ । लामिछानेलाई भैरहवा पठाइदिन जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कास्की प्रहरीलाई गत साता नै पत्राचार गरेको थियो । लामिछानेविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान जारी राखेको छ ।
सुप्रिम सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ र सूर्य दर्शनको पाँच करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलिसकेको छ । सुप्रिमबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा लगिएको संसदीय छानबिन विशेष समितिले समेत औंल्याएको छ ।
यता,मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् एमाले नेता लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान थालिएको छ । हिजो विराटनगरस्थित उनको घरबाट पक्रेर दिउँसो राजधानी ल्याएपछि प्रहरीलाई काठमाडौं जिल्ला अदालतले दुई दिनको अनुमति दिएको थियो ।
तिहारअघि मानव तस्करी गरेको अभियोगमा अधिकारीलाई जापान अध्यागमनले ४८ घण्टा विमानस्थलमा राखेर फर्काइदिएको थियो । नेपाल आइपुगेपछि उनले पदबाट राजीनामा दिएका थिए । एमाले कोशी प्रदेश कमिटीले पार्टीका कुनै पनि भूमिकामा नरहेको भन्दै निलम्बन गरिसकेको छ ।
टिप्पणीहरू