बिजुलीको लाइन नजोडिएकोमा प्रधानमन्त्री असन्तुष्ट
बिजुलीको पैसा नतिर्ने उद्योगको काटिएको लाइन नजोडिएप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाउनुभएको छ ।
हिजोको क्याविनेट बैठकले लाइन जोड्न दिएको २४ घण्टे निर्देशन नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन नगरेपछि उहाँले असन्तुष्टि प्रकट गर्नुभएको हो । विराटनगरमा पत्रकारहरुले आज पनि बिजुलीको लाइन जोडिएन नि भन्दै प्रधानमन्त्रीको धारणा मागेका थिए ।
जवाफमा उहाँले भन्नुभयो ‘आज पनि जोडिएन होइन, ल ठिक छ ! त्यो हेर्दैै जानुपर्छ । तर देश बिर्गान, उद्योग धन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन चाहिँ दिइँदैन ।’
मुलुक १८ घण्टे लोडसेडिङमा रहेका बेला डेडिकेटेड तथा ट्रंकलाइन सुविधा लिएर २४ सै घण्टा विजुली उपभोग गरेका तर महसुल नतिरेका व्यवसायीबाट बक्यौता उठाउने विषयमा सरकार र प्राधिकरणबीच लामो समयदेखि विवाद छ । प्राधिकरण जुनसुकै हालतमा बक्यौता उठाएरै छाड्ने अडानमा रहँदा सरकारले भने व्यवसायीप्रति नरम व्यवहार गर्दै आएको छ ।
प्रधानमन्त्रीमा शपथ लगत्तै ओलीले प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई बालुवाटार बोलाएर व्यवसायीहरुकै अगाडि लाइन जोड्न निर्देशन दिनुभएको थियो । तर, प्राधिकरणले मौखिक आदेशको भरमा लाइन जोड्न नसक्ने बताएपछि क्याविनेटले निर्णय नै गरेर लाइन जोडिएको थियो ।
तीन महिनाभित्र बक्यौता तिर्ने शर्तमा त्यतिबेला लाइन जोडिए पनि उक्त अवधिमा व्यवसायीहरुले पैसा नतिरेपछि प्राधिकरणले पुन: लाइन काटेपछि विवाद फेरि बल्झिएको हो ।
यसअघि सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले पनि सरकारको निर्णय कार्यान्वयन नगर्ने कुरा क्षम्य नहुने चेतावनी दिनुभएको थियो ।
टिप्पणीहरू