अख्तियारमा कालो चिया खाएलगत्तै सहसचिव अस्पताल भर्ना
नेपाल सरकारका एक जना सहसचिव छातिमा असह्य पीडा भएपछि अस्पताल भर्ना भएका छन् । गत बिहीबार अख्तियार पुगेका सहसचिव डण्डु घिमिरे घर छिर्नासाथ गम्भीर बिमार भएको बताइन्छ । अकुत सम्पत्ति कमाएको उजुरीका कारण त्यो दिन आयोगले बोलाएर बयान लिएको बताइन्छ ।
‘गत बिहीबार सामान्य सोधपुछ भएको हो । फर्केको भोलिपल्ट छातिमा पीडा भएकाले मेडिसिटीको आइसीयुमा भर्ना भएर उपचार गरिरहेको सुनेको छु,’ श्रम मन्त्रालय स्रोतले भन्यो ।
पहिले वैदेशिक रोजगार विभागको डिजी रहेका उनी हाल श्रम मन्त्रालयमा कार्यरत छन् । केही समय पर्यटन मन्त्रालयमा पनि थिए । सचिव बढुवाको मुखैमा रहेको बेलामा माथि जान रोक्ने उद्देश्यले केही हर्ताकर्ताले उजुर हालेको भन्नेहरु पनि भेटिएका छन् । कतिपयले सरकारका प्रभावशाली मन्त्रीहरुले नै उनीमाथि बक्रदृष्टि राखेकोसमेत भन्न भ्याएका छन् ।
तर अख्तियारका प्रवक्ताले घिमिरेसँग बयान नलिइएको दाबी गरेका छन् । काम विशेषले उनी टंगालस्थित अख्तियारको मुख्यालयमा पुगेपछि चिया खाएर गएको बुझिएको छ ।
टिप्पणीहरू