सहकारी पीडितको मोटरसाइकल जुलुस

सहकारी पीडितको मोटरसाइकल जुलुस

सहकारी पीडितहरुले काठमाडौँमा मोटरसाइकल र्याली निकालेका छन् । सहकारी बचतकर्ता राष्ट्रिय महासघंको अगुवाइमा उनीहरुले आज दिउँसो नाराबाजीसहित र्याली गरेका हुन् । 

महासंघले मङ्सिर ५ गते काठमाडौँमा विशाल जनप्रदर्शनको तयारी गरेको छ । त्यसको प्रचार प्रसारका लागि मोटरसाइकल र्याली निकालेको जनाइएको छ । 

महासंघका अध्यक्ष कुशलव केसीको नेतृत्वमा कालिमाटी चोकबाट निस्किएको र्याली टेकु, लगनटोल, जैसीदेवल, टङ्केश्वर, बाफल, सोल्टीमोड, रविभवन, कलंकी, नैकाप, ट्याङ्लाफाट, नयाँ बजार, पाँगा हुँदै चक्रपथ परिक्रमा गर्ने र पुन: बल्खु, कुलेश्वर गणेशस्थान, बुद्धपार्क, गौरीशङ्कर सडक, तिनकुने चौर फन्को मारी गौतम श्री सहकारीमा पुगेर समापन हुने बताइएको छ । 

र्यालीमा पूर्वमन्त्री तथा बागमती प्रदेशका सांसद शैलेन्द्रमान बज्राचार्य, सत्य र न्याय खोजी अभियानका संयोजक तथा अधिवक्ता ध्रुवलाल श्रेष्ठ, स्वर्णलक्ष्मी बचत सहकारीका संयोजक नन्दु ताम्राकार लगायत उपस्थिति छ । ५० वटाजति मोटरसाइकल र केही साना  गाडीमा डेढ सयको संख्यामा रहेका र्यालीका सहभागीले बचत फिर्ताको माग गरेका छन् । 

उनीहरुले 'सहकारी पीडितलाई न्याय दे', 'महङ्गीको अन्त्य गर', 'सहकारीको बचत फिर्ता गर' जस्ता नारा लगाइरहेका छन् ।

टिप्पणीहरू