औषधि पसलमा ड्रेसकोड अनिवार्य, उल्लङ्घन भए कारबाही

औषधि पसलमा ड्रेसकोड अनिवार्य, उल्लङ्घन भए कारबाही

फार्मेसीमा औषधी बेच्ने फार्मेसिष्ट र फार्मेसी सहायकले अनिवार्य सेतो एप्रोन र नेम ट्याग लगाउनुपर्ने भएको छ । 

नेपाल फार्मेसी परिषद्ले आगामी पुस ४ गतेदेखि सेतो एप्रोन र नेम ट्याग अनिवार्य गरेको हो । हिजो बसेको परिषद्को बैठकले अनिवार्य सेतो एप्रोन र नेम ट्याग लगाउनुपर्ने निर्णय गरेको रजिष्ट्रार सञ्जिवकुमार पाण्डेले बताए । 

उनका अनुसार फर्मासिष्टले हरियो र फार्मेसी सहायकले निलो रंगको व्याकग्राउण्ड भएको नेम ट्यागमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद्को दर्ता नम्बर लेख्नुपर्नेछ । 

‘परिषद् ऐनको दफा ९ को उपदफा (क) ले दिएको अधिकार प्रयोग गरी कुनैपनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधी डिस्पेन्सिङमा कार्यरत रहेको फर्मासिष्ट र फार्मेसी सहायकले आगामी पुस ४ देखि औषधी डिस्पेन्सिङ गर्दा देहायको नेम ट्यागसहितको सेतो एप्रोन लगाई मात्र डिस्पेन्सिङ गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिएको छ’,जारी सूचनामा उल्लेख छ । 

तोकिएको अवधिपछि फार्मेसीमा नियमित अनुगमन गरिने परिषद्ले जनाएको छ । त्यस्तै, परिषद्ले ड्रेसकोडको नियम पालना नगर्नेलाई परिषद्को नियमावली २०५९ को परिच्छेद ३ को ३.२ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

टिप्पणीहरू