‘कम्बोडिया काण्ड’ बेतुकको अफवाह : प्रधानमन्त्री
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले कम्बोडियामा लाखौं डलर लगानी गरेको अफवाहमा कुनै सत्यता नभएको बताउनुभएको छ । उहाँले दरबारमार्गमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै नेपाली जनतालाई भ्रम नछर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘जथाभावी बोल्न पाईंदैन । मेरा विरुद्ध भ्रम छर्ने हो भने अमेरिकाका बैंकमा रहेको निक्षेपको आधा सबै केपीको हो भनिदिए भइहाल्यो । यस्ता गलत प्रवृत्तिलाई प्रोत्साहित नगरौं ।’
त्यसअघि बोलेका महासचिव शंकर पोखरेलले ‘कम्बोडिया काण्ड’को नाममा प्रधानमन्त्रीविरुद्ध षड्यन्त्र गरिएको दाबी गर्नुभएको छ । उहाँले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई कमजोर बनाउन सुनियोजित ढंगले भ्रम फैलाइएको बताउनुभयो ।
विकास र समृद्धिको यात्रामा प्रधानमन्त्रीको पहलकदमी देखेर डाहा गरेकाहरुले चौतर्फी घेराबन्दीको प्रयास गरेको पोखरेलको भनाई छ । ‘अध्यक्ष कमरेडले संसदको रोष्टममै उभिएर भनिसक्नुभएको छ कि कम्बोडियामा मेरो लगानी प्रमाणित भए दोब्बर पैसा थपेर दिन्छु’, भनिएको छ, ‘तर त्यही कुरालाई आज सरकारविरुद्ध भ्रम फैलाउने गतिलो आधार बनाइएको छ, तर हामी ढुक्क छांै, सुशासन र भ्रष्टाचारविरुको अभियान रोकिँदैन ।’
महासचिव पोखरेलले माओवादी कार्यकर्ताबाट प्रधानमन्त्री ओलीको बद्नाम गर्न खोजिएको प्रसंग पनि स्मरण गर्नुभएको छ । ‘जावलाखेलमा नेपाल टेलिकमको भवन बनाउँदा त्यहाँ केपी ओलीको फोटो टाँसेर माओवादीबाट बद्नाम गर्ने प्रयास समेत भयो, तर हामी बिचलित भएनौँ,’ उहाँले उल्लेख गर्नुभयो ।
टिप्पणीहरू