चीन भ्रमण, सहकारी ठगी र कम्बोडियामा लगानीबारे प्रधानमन्त्रीको प्रष्टोक्ति
नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा पैसा थुपारेको आरोप खण्डनको लायक पनि नभएको बताउनुभएको छ । दरबारमार्गमा आयोजित पार्टीको जागरण सभालाई सम्बोधन गर्दै उहाँले सस्तो लोकप्रियताका लागि अपत्यारिलो भ्रम फैलाइएको दाबी गर्नुभएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायततर्फ संकेत गर्दै उहाँले तथ्यमा उभिएर मात्र एमालेसँग बहस गर्न चुनौती दिनुभयो । ‘हल्ला चलाइराख्या छन्, कम्बोडियामा यति पैसा लग्यो, स्वीस बैंकमा यति राख्या छ भनेर !’, उहाँले भन्नुभयो, ‘जनता त्यहाँ गएर बुझ्ने कुरा भएन, जे भन्दिए पनि भयो । अमेरिकी बैंकको आधा सम्पति मेरै हो । पत्याउनु हुन्छ ?’
उहाँले आरोप र भ्रम फैलाउनुअघि तथ्य केलाउन पनि सुझाउनुभएको छ । ‘कम्बोडिया भन्ने देश ४ घण्टाको फ्लाइटमा पुगिन्छ । यहाँबाट बैंकक, त्यहाँबाट कम्बोडिया गएर खोजे हुन्छ नि !’
प्रसाईंलगायत केही व्यक्तिले लोकतन्त्रलाई खतरामा पार्ने प्रयास गर्दै आएको प्रधानमन्त्रीको भनाई छ । तर सरकारले अराजकतालाई मौलाउन नदिने उहाँले बताउनुभयो ।
प्रसाईंलक्षित उहाँको भनाई छ, ‘बैंकबाट ऋण खाने, अति त्यहीँ ऋण तिर्नु पर्दैन भनेर कराएर हिँड्छ । त्यस्ता व्यक्तिहरुले यो देशको अर्थतन्त्र र मौद्रिक नीति अस्तव्यस्त पार्न खोजेका हुन् । अनि फेरि भन्छ, उद्यमी, व्यापारी, मारवाडीलाई खेद । त्यस्तो अराजकता हामीलाई सह्य हुँदैन ।’
प्रधानमन्त्री ओलीले भारतीय कथनको उदारहण दिदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि कटाक्ष गर्नुभयो । ‘उल्टा चोर कोतुवालको डाँटे’ भन्दै, ‘आफै सहकारी ठग्दै हिँड्ने, अनि अरुलाई मुख छाड्ने ? कुनै पनि ठगी, भ्रष्टाचार, मानव तस्करी सह्य हुने छैन । हामी अनुहार हेर्दैनौं, अपराध गर्नेलाई कारबाही गरिन्छ,’ उहाँको भनाई छ ।
प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी र उसका सभापतिलाई लक्षित गर्दै ‘आफैं सहकारी ठग्ने अनि अरुलाई गाली गर्ने काम भइरहेको छ,’ भन्नुभयो ।
कागले कान लग्यो भन्दैमा एमाले कागको पछि नलाग्ने उहाँको तर्क छ । उहाँले वर्तमान गठबन्धनको आयुबारे अड्कलबाजी गर्नुको औचित्य नभएको पनि बताउनुभयो । विपक्षी दलहरुलाई लक्षित गर्दै, ‘सरकार बन्दै बन्दैन भन्थे, बन्यो । विश्वासको मत पाउँदैन भन्थे, पाएँ । दशैँ कट्दैन भने, कट्यो । तिहार पनि मनायौँ । अब फेरि फेब्रुअरी, माघ÷फागुनको भाका राख्दैछन् । तर म के भन्न चाहन्छु भने २०८४ को मंसिरसम्म अहिलेकै समीकरण कायम हुन्छ । ०८३ असारसम्म म प्रधानमन्त्री हुन्छु, त्यसपछि देउवाजीले चलाउनुहुन्छ । अहिलेको समीकरणलाई कसैले हल्लाउन सक्दैन ।’
उहाँले आफू मंसिर १७ गते देश हितको निम्ति चीन भ्रमणमा जान लागेको केवल घुम्नैको लागि मात्र जान नलागेको सन्देश दिनुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘म घुम्नका लागि होइन, देशको हितका लागि यो भ्रमण गर्दैछु । भ्रमणपछि हेर्नु होला ।’
टिप्पणीहरू