मौसम जाडो र बिहेको,कोक र पेप्सीमाथि आरोप ठगीको
पेप्सीकोलालगायत विभिन्न पेय पदार्थ उत्पादक कम्पनी बरुण बेभरेजले २७ करोड १३ लाख ४१ हजार १०१ रुपैयाँ राजश्व छलेको ठहर भएको छ । नक्कली बिलबीजकको आधारमा कम्पनीले उक्त रकम बराबरको राजश्व चुहावट गरेकाले थप सात करोड रुपैयाँ जरिवाना तिराइएको छ । उच्च अदालत पाटनको गत पुसको आदेश हालै सार्वजनिक भएको छ ।
न्यायाधीशद्वय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त इजलासले दिएको आदेशमा कम्पनीलाई राजश्व छल्न सहयोग पुर्याएकोमा प्रत्यक्ष संलग्नता देखिएकाले फाइनान्स विभाग प्रमुख अमित गुप्तालाई एक वर्ष कैद र एक करोड रुपैयाँ जरिवाना तोकिएको छ ।
आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको कर छलीमध्ये कम्पनीले मूल्य अभिवृद्धि करमा नौ करोड २८ लाख २७ हजार २१९, आयकरमा १४ करोड २८ लाख ११ हजार १०६ तथा लाभकरमा तीन करोड ५७ लाख दुई हजार ७७६ रुपैयाँ राजश्व छली गरेको देखिन आएको छ ।
यता कोकाकोला उत्पादन गर्ने बोटलर्स नेपालविरुद्ध कर छलीको मुद्दा अदालतमा विचाराधीन छ । राजस्व अनुसन्धान विभागले तीन वर्षअघि उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा बोटलर्स नेपालको सेयर किनबेचमा तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ कर छलेको आरोप लगाइएको छ ।
एक दशकअघि २०७१ मा भएको बोटलर्स नेपालको सेयर खरिदबिक्रीको क्रममा सरकारलाई लाभकर नबुझाएको आशंकामा २०७७ मंसिर २३ गते विभागले बोटलर्स नेपालमा छापा मारेर कागजात कब्जामा लिएको थियो । दुबईको कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गरिँदा उक्त लाभकर नतिरिएको पाइएको हो ।
बोटलर्स नेपालमा गरिएको ७६ प्रतिशत सेयर स्वामित्व विदेशीको, २२ प्रतिशत गोरखा ब्रुअरी र २ प्रतिशत सर्वसाधारण नेपालीको छ ।
टिप्पणीहरू