रविको बयान दुई दिनमा सक्ने तयारी
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जारी छ । भद्रकालीस्थित सरकारी वकिलको कार्यालयमा बिहान १० बजेदेखि शुरु भएको बयान अहिले चलिरहेको छ ।
लामिछानेमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलन गरेको आरोप छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहमहान्याधिवक्ता सन्देश श्रेष्ठले जतिसक्दो छिटो बयान सक्ने तयारी रहेको जानकारी दिएका छन् । सम्भवत: आज र भोलिमा बयान सकिने र पोखरा फर्काइने उनले बताए ।
‘बयानका क्रममा प्रश्नहरू थपिन पनि सक्छन्, यस्तो अवस्थामा लम्बिन पनि सक्छ, हामी निर्णय गर्छौँ’, श्रेष्ठले भने ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा पक्राउ पूर्जी जारी भएपछि हिजो साँझ लामिछानेलाई पोखराबाट काठमाडौं ल्याएको थियो । रातभर जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएका उनलाई आज बिहानै सरकारी वकिलको कार्यालय पुर्याइएको हो ।
पोखरास्थित सूर्यदर्शन सहकारी घोटालाको आरोपमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई रुपन्देहीको सुप्रिम सहकारीको बचत अपचलन सम्बन्धमा बयान लिइसकिएको छ । सहारा सहकारीको बचत अपचलन गरेको आरोपमा चितवनमा पनि उनीविरुद्ध उजुरी परेको अवस्था छ ।
टिप्पणीहरू