ठालूसँग लाएको पिरतीले जिन्दगी ठहरै
साहस र वीरताको दोश्रो नाउँ नेपोलियन हो भन्दा फरक नपर्ला । विश्व इतिहासमा उनलाई महान सेनापतिको रूपमा लिने गरिन्छ । पछि फ्रान्सको सम्राटसम्म बनेका उनले सम्पूर्ण जीवन सैनिक सेवामै बिताएका थिए । १० वर्षकै उमेरदेखि सैन्य स्कूलमा पढ्न थालेका उनी १६ वर्ष पुग्दा सैन्य कलेजबाट स्नातक पास गरी सेकेण्ड लेफ्टिनेन्ट बन्न पुगे । एकपछि अर्को सफलता हासिल गर्दै गएपछि फ्रान्सिसी सरकार नै उनीदेखि डरायो र मिश्रमा खटायो । यो सन् १७९८ को कुरा हो ।
त्यसबेला जोसेफिनसँग बिहे भएको २ वर्ष मात्र भएको थियो । नेपोलियन सानैदेखि जेठी युवतीप्रति आकर्षित हुन्थे, जोसेफिन उनीभन्दा ६ वर्ष जेठी थिइन् । नेपोलियन भित्री हृदयदेखि नै जोसेफिनसित प्रेम गर्थे तर जोसेफिन भने नेपोलियनको धन र उनको प्रभावशाली व्यक्तित्वप्रति आकर्षित थिइन् । त्यसै पनि नेपोलियन उनको दोस्रो लोग्ने थिए । १६ वर्षकै उमेरमा सैन्य जर्नेल अलेक्ज्याण्डरसित बिहे गरिसकेकी उनी उतैबाट दुई छोराको आमा पनि बनिन् । नेपोलियन र जोसेफिनको प्रेमकथा जनआस्थाको वर्ष २२ अंक ३५, २०७३ मंसिर ८ गते प्रकाशित भइसकेको छ ।
नेपोलियन बोनापार्ट मायालु पत्नीलाई छाडेर मिश्रको रणभूमिमा जान चाहँदैनथे । सँगै लान धेरै प्रयत्न गरे तर जोसेफिन वैभवपूर्ण जीवन त्यागेर युद्ध मैदानमा जान मानिनन् । अन्ततः नेपोलियन एक्लैले फ्रान्स छाडे । उसो त जोसेफिन आफ्नो प्रेमी हिप्पोलाइट चाल्र्सलाई छाडेर जान चाहँदैन थिइन् । हिप्पो पनि लेफ्टिनेन्ट थिए, जोसेफिनभन्दा ९ वर्ष कान्छो । नेपोलियन मिश्रका लागि प्रस्थान गर्नु केही दिनअगाडि भेट हुँदा जोसेफिन हिप्पोको खाइलाग्दो ज्यान देखेरै मख्ख परेकी थिइन् । मिश्र पुगेपछि नेपोलियनलाई जोसेफिनको सम्झनाले निकै सतायो ।
यस्तोमा उनी तुरुन्तै पत्नीलाई पत्र लेख्थे । उता, जोसेफिनलाई भने हिप्पोसित प्रेमालाप गर्दै फुर्सद हुन्नथ्यो । लोग्नेको पत्रको जवाफ ६÷७ दिनपछि बल्ल दिन्थिन् झारा टार्ने हिसाबले, २–४ लाइनको । जोसेफिनको यस्तो व्यवहारबाट नेपोलियन तिर्मिराए र एक जना सहायकमार्फत तुरन्त मिश्र आइपुग्न सन्देश पठाए । तर जोसेफिनले यसको पनि कुनै पर्वाह गरिनन् र सन्देशवाहकलाई खालिहात फर्काइदिइन् । नेपोलियनले फेरि सेनापति मुरातको हाता एउटा पत्र पठाए । जसमा लेखिएको थियो, ‘यहाँ पनि तिमीलाई चाहिने सबै ऐशआराम मिल्नेछ, नोकर चाकर, लुगाफाटो अनि तिम्रो प्रिय कुकुर ।’
पत्र पढेर जोसेफिन फिस्स हाँसिन् अनि मुरातलाई हेर्दै भनिन्, ‘नेपोलियन पनि रोमान्टिक हुनुहुन्छ ।’ उनले मिश्र होइन इटली जाने मन बनाइराखेको, साथै आफू गर्भवती भएको खुशीको खबर पठाइन् । नेपोलियन खल्तीमा जोसेफिनको फोटो राखेर हिँड्थे । जब उनले जोसेफिन गर्भवती भएको खबर सुने, खुशीले पागल नै भए । यसपछि झन् जोसेफिनलाई मिश्र बोलाउन लागिपरे । नत्र आफैँ फ्रान्स पुग्ने र त्यसका लागि १५ दिनको बिदा मिलाइदिन अनुरोध गरेको पत्र पठाए तर उक्त पत्र जोसेफिनले लुकाएर राखिन् । आफू अस्वस्थ भएको बहाना बनाइन् । जोसेफिनको बेवास्ताले नेपोलियनको मनलाई खिन्न बनायो । यसैबीच, कुनै स्रोतबाट जोसेफिनले बिरामीको बहाना मात्र बनाएको र उनी प्रेमीसँग मिलानमा मोजमस्ती गर्दै हिँडिरहेको सूचना पाए । यो धोकाबाट उनको मुटु छियाछिया भयो । फ्रान्स फर्केपछि सम्बन्धविच्छेद गर्ने सोच बनाउँदै रणभूमिमा जुटे ।
मिश्र बसाइमा नेपोलियनको पनि थुप्रै स्थानीय महिलासित उठबस थियो । यसैबीच, पाउलिन फौरेससित परिचय भयो । पाउलिन फ्रान्सिसी नै थिइन् र लोग्नेको साथमा हनिमुन मनाउन मिश्र पुगेकी थिइन् । २१ वर्षीया पाउलिनका लोग्ने जिननोल फौरेस फ्रान्सिसी सेनामा घडचढी सैनिक बटालियनका लेफ्टिनेन्ट थिए । पाउलिन भने पेशाले पेन्टर थिइन् । सैनिक पत्नीलाई सेनाको जहाज चढ्ने अनुमति थिएन । त्यसैले तल्लो दर्जाको सैन्य पोशाक लगाइन् र लुक्दै ५४ औं दिन लोग्नेसँगै जहाजबाट मिश्रको अलेक्ज्याण्डर पुगिन् । त्यसबखत अन्य सैनिक जवानका पत्नी र प्रेमिकाहरू पनि यसैगरी लोग्नेलाई खटाइएको युद्धस्थलसम्म पुग्थे । मिश्र पुगेको केही दिनमै पाउलिन सबै फ्रान्सिसी सैनिकसँग घुलमिल भइन् । पातली, गोरी र आकर्षक शरीरकी धनी उनी सैनिक जवानबीच आकर्षणको पात्र बनिन्, जसकारण अवैध तरिकाबाट मिश्र पुगेको कुरा थाहा पाउने अधिकृतहरूले आँखा चिम्लिदिए ।
मिश्रको जीवन फ्रान्सिसी सैनिकका लागि सहज थिएन । स्थानीय महिला फ्रान्सिसी महिलालाई घृणा गर्थे । त्यसैले नेपोलियनको आदेशानुसार साँझ सबै सैनिक पत्नी रमणीय बगैँचा ‘टिभोली’ मा भेला हुन्थे । सन् १७९८ को नोभेम्बर ३० को दिन नेपोलियनले पाउलिनलाई पहिलोपटक त्यहीँ देखेका हुन् । त्यसबेला पाउलिन मिश्र पुगेको ३ महिना भइसकेको थियो । नेपोलियनले देख्दा उनी सैनिकहरूसित खेल्दै रमाउँदै थिइन् ।
उनलाई देखेर नेपोलियन नबोली बस्न सकेनन् र परिचय गर्न गए । सामान्य कुराकानीपश्चात् नै पाउलिन मनप¥यो । उनीसँग सम्बन्ध बढाउन सके जोसेफिनले दिएको दुःखबाट मुक्ति मिल्ने ठाने । र, तेस्रो दिन प्रेम प्रस्ताव राखे । शुरुमा पाउलिनले नेपोलियनको प्रस्ताव स्विकारिनन् । उनी लोग्नेलाई धोका दिन चाहन्न थिइन् । लोग्नेदेखि डराउँथिन् पनि । जिन अलि शंकालु र रिसाहा स्वभावका युवक थिए । तर, नेपोलियन हार मान्ने स्वभावका थिएनन्, उनले दिनहुँ पाउलिनलाई उपहारहरू पठाउन थाले । पाउलिन विस्तारै सेनापति नेपोलियनप्रति फिदा हुँदै गइन् । भनिन्, ‘लोग्ने कायरोमा हुञ्जेल म केही गर्न सक्दिनँ ।’
उनीहरूले गुप्ततवरमा भेट्दै गए । अन्त्यमा नेपोलियनले जिनलाई तुरन्तै पेरिस फर्कनुपर्ने काम सुम्पे । जिनले पत्नीलाई पनि सँगै लाने अनुमति मागे । बरु फेरि फर्कनु तर आजै पेरिस गइहाल्नु भनेर रवाना गरिदिए । त्यसै साँझ नेपोलियनले आफ्नो निवासमा रात्रिभोजको आयोजना गरे । पाउलिनलाई दायाँतर्फ बसाले । पाउलिनले लोग्नेको अनुपस्थितिमा स्वतन्त्र महसुस गर्दै हँसिमजाक गर्न थालिन् । भोजकै क्रममा एक जना सेवकले पाउलिनको लुगामा पर्ने गरी पानी पोखाइदिए । नेपोलियन आफैँले लुगा सफा गर्न थाले । भिजेको लुगा फेर्न लगाउने बहानामा नेपोलियनले उनलाई आफ्नो शयनकक्षमा लिएर गए र एकघण्टा पछि मात्र निस्के । सैनिक जवानहरू जिब्रो टोकेर बसे । भोलिपल्ट बिहानै पाउलिनको डेरा नेपोलियन निवास नजिकको भवनमा सर्यो । अब दुवै जना स्वतन्त्र भएर भेट्न थाले । नेपोलियनले आफू जता गए पनि सँगै लान्थे । धेरैपटक धेरैले पाउलिनलाई नेपोलियनको बेडरूमबाट निस्केको देखे । त्यसपछि कसैले उनलाई ‘श्रीमती जर्नेल’ त कसैले ‘नेपोलियनकी क्लियोपेट्रा’ भन्न थाले ।
उता, जिन चढेको जहाज ब्रिटिश सेनाको कब्जामा पर्यो । र, उनलाई इजिप्ट (मिश्र) नै फर्काइयिो । कायरो पुग्दा जिनले घर खाली पाए । त्यहाँका जनताले उनको अनुपस्थितिमा के–के भयो सबै बताए । उनी सिधै पाउलिन बसेको घरतिर लागे । पत्नीसमक्ष रिस पोखे र घर फर्कन आग्रह गरे तर पाउलिनले उल्टो सम्बन्धविच्छेद गर्ने धम्की दिइन् । जिनले रिसमा पाउलिनमाथि हातपात गरिदिए र पक्राउ परे । पाउलिनले आफूमाथि हातपात गरेकाले सम्बन्ध विच्छेद गरिपाऊँ भनी अदालतमा निवेदन दिइन् । इजिप्टमा सम्बन्धविच्छेदलाई झमेलाको रूपमा लिइँदैनथ्यो त्यसैले एकैदिनमा पाउलिनको पक्षमा निर्णय सुनायो । लोग्नेसित सम्बन्धविच्छेदपछि पाउलिन नेपोलियनको पत्नीसरह एउटै घरमा रहन थालिन् ।
नेपोलियन चाहन्थे– पाउलिनले छोरा एउटा जन्माउन् । तर पाउलिन पहिला नेपोलियनले पत्नी जोसेफिनसित सम्बन्ध विच्छेद गरी आफूसँग बिहे गरुन् भन्ने चाहन्थिन् । यसैमा मतभेद शुरु भयो । यसैबीच नेपोलियन पाउलिनलाई कायरोमै छाडी सिरियातर्फ लागे । पाउलिनले बिरह पोख्दै प्रेमपत्र लेख्न थालिन् । केही दिनपछि नेपोलियन कायरो फर्के र पतिपत्नीसरह बस्न थाले । त्यतिञ्जेलमा नेपोलियनले फ्रान्स फर्कने निर्णय गरिसकेका थिए तर उनले पाउलिनलाई आफूसँगै लान चाहेनन् । सन् १७९९ को अगस्त १७ मा एक्लै फ्रान्सतर्फ लागे ।
पाउलिन पनि केही समयपछि फ्रान्सतर्फ रवाना भइन् । उनी चढेको जहाजलाई पनि बेलायतले कब्जामा पार्यो र पाउलिनलाई इजिप्ट फर्काइदियो । पाउलिनले त्यसपछि पुनः नेपोलियनलाई भेट्न जाने चेष्टा गरिनन् । इजिप्टमै पियरी हेनरी रेन्चोप र उनीपछि जिन बेलार्डसित बिहे गरी बसिन् । उनी बल्ल सन् १८३७ मा मात्र फ्रान्स फर्किन सकिन्, जतिखेर नेपोलियन मरेको १६ वर्ष बितिसकेको थियो । उनको निधन ९१ वर्षको उमेरमा सन् १८६९ मा भयो । उनीद्वारा लिखित दुइटा उपन्यास प्रकाशित छन् ।
(साभार:जनआस्था-साप्ताहिकबाट)
टिप्पणीहरू