मतदाता नामावली अद्यावधिक गरिँदै
निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुचारु गर्ने भएको छ । स्थानीय तह उपचुनावको घोषणासँगै स्थगित गरिएको नामावली प्रक्रिया आयोगले पर्सिदेखि थालिने बताइएको छ ।
आइतबारदेखि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य शुरु हुने आयोगले जानकारी गराएको छ ।
कुनै व्यक्ति पेशा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको भएतापनि निजले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाणसहित आयोगको प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत् आवेदन दिनसक्ने आयोगले जनाएको छ ।
यसरी आवेदन गरेमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाएको आयोगको भनाइ छ । नामावलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्दछ ।
नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक ठेगानामा दर्ताका लागि नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्र समेत आयोगको प्रणालीमा प्रविष्ट गर्नुपर्छ ।
त्यसैगरी, कुनै मतदाताले आफ्नो नामावलीमा कुनै त्रुटि रहेको भए सच्याउन, दोहोरो नाम भए हटाउन, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायत कामका लागि पनि प्रणालीमा गई आवेदन दिन सक्ने आयोगले जनाएको छ ।
टिप्पणीहरू