वसन्तपुरमा बेलुकी जब बज्न थाल्यो दम मारो दम
दम मारो दम
मिट जाए गम
बोलो सुबह शाम
हरे कृष्णा हरे राम ! राम
दुनियाँ ने हमको दिया क्या
दुनियाँ से हमने लिया क्या
हम सब की परवाह करें क्यूँ
सबने हमारा किया क्या
दम मारो दम...
चाहे जिएगें मरेंगे
हम ना किसी से डरेंगे
हमको ना रोके जमाना
जो चाहेंगे हम करेंगे
दम मारो दम’
सन् १९७१ को जनवरीमा प्रदर्शित हिन्दी चलचित्र ‘हरे रामा हरे कृष्णा’ को अत्यन्त लोकप्रिय गीत हो यो । हिन्दी चलचित्रका पारखी दर्शकको मुखमुखमा आजपर्यन्त झुण्डिन सफल यो गीतले सिंगो चलचित्रलाई सफल पार्न प्रमुख भूमिका निभायो । आनन्द बख्सीको यो गीत आशा भोंसलेले गायकी थिइन् भने संगीत राहुलदेव बर्मनको थियो । चलचित्रका कथा, निर्माता, निर्देशक र मुख्य भूमिका सबै देव आनन्दको थियो । उनी सन् १९४६ देखि नै नायकको भूमिका निभाउँदै आइरहेका पुराना अभिनेता थिए ।
सन् १९७०, रातिको समय । काठमाडौंको मुटु वसन्तपुर नजिक ऐतिहासिक काष्ठमण्डप (मरुसतः) लाई पूरै प्रहरीले सुरक्षा दिएका थिए । सडक, गल्ली, दबुली, घरको छत, झ्याल र आसपासको मन्दिर खचाखच थियो । म काष्ठमण्डप अगाडिको सिंह सत्तल (सिंल्यं सत्तल) को बरण्डामा थिएँ । मलाई हजुरआमाले सुटिङ देखाउन लानुभएको थियो । त्यो बेला सिंह सत्तलको भुइँतलामा पसलै पसल थियो । पहिलो तलामा कौशीरुपी बरण्डा र दोश्रोमा भजन गाउने ठूलो र खुला कोठा थियो । बेलुकीको बेला पहिलो र दोस्रो तला पनि स्थानीयले भरिएको थियो । एउटा कुनोको बरण्डामा केही भारतीय र नेपाली लाइट र सेट मिलाउनमा व्यस्त थिए ।
त्यो बेला विशेषतः काठमाडौंको झोछें फ्रिक स्ट्रिटको नाउँले विश्व चर्चित थियो, किनभने त्यो हिप्पीहरूको केन्द्र थियो । ६० को दशक हिप्पीको युग थियो । लामो कपाल, लामो दाह्री, जिङरि¨ कपाल, खुकुला लुगा र बेलिबटम पाइन्ट, गाँजा र चरेस खाएर लठ्ठ पर्दै अनौठा स्वभाव देखाउने गर्थे, विदेशी पर्यटक । यिनीहरूले गर्दा नै त्यसबखतको काठमाडाैँमा गाँजाको बिक्री–वितरण खुला हुन थालेको थियो । सार्वजनिक स्थलमै अर्धनग्न र नग्न भई बस्ने, हिँड्ने, समाजलाई अपाच्य क्रियाकलाप गर्ने, लजमा स्त्री पुरुष सँगै बस्न रुचाउने जमात थियो । हाकाहाकी खुला यौनको वकालत गरिन्थ्यो । हिप्पी युग अमेरिकाबाट शुरु भई विश्वभरि फैलिन पुगेको थियो । आजपर्यन्त युवा जगतको ढुकढुकी बन्न सफल जमैकाका गायक बब मार्ले, ६० को दशकका लोकप्रिय गायकहरू बब डायलन्, जोन बेज, बिटल्स, रोलिङ स्टोन्सहरू सबै त्यही युगका उपज हुन् ।
काष्ठमण्डपको उक्त बरण्डामा एक हुल हिप्पी पनि थिए । गाँजामा लठ्ठ । दम मारो दम गीतको छायांकन शुरु हुनुपूर्व नेपाली युवतीलाई मनपर्ने अभिनेता देवानन्द (देव आनन्द) आइपुगे । पछि अभिनेत्री जीनत अमान र अन्य कलाकार पुगे । एकछिनपछि नायिका मुमताज चढेको गाडी रोकियो । अब भीड अनियन्त्रित भयो । सबै मुमताजलाई हेर्न झुम्मिन पुगे । भीड देखेर मुमताज डराइन् । गाडीबाट निस्कनै मानिनन् । प्रहरीले भीडलाई हटाउन निकै कोसिस गरेकै हुन् तर मुमताजलाई हेर्न नपाएकाले गाडीमा लात्ती र मुक्का बर्साउन थाले । वास्तवमा दर्शक मुमताजलाई नजिकबाट हेर्न लालायित थिए तर उनीमाथि अभद्र व्यवहार हुने आशंकामा प्रहरीले लाठीचार्ज ग¥यो । भीड तितरवितर भयो । काष्ठमण्डप वरिपरि आधा दर्जन बाटा थिए । भीड कोही कता कोही कता भयो । जैसीदेवल र भीमसेनस्थान जाने बाटोतर्फ भागेको भीड अलि उग्र बन्यो । उनीहरूले ढुंगा बर्साउन शुरु गरे । एकछिन प्रहरी र स्थानीयबीच झडप भयो । हामी देवलको माथि बसेकाले सुरक्षित भयौं । प्रहरीले भीडलाई निकै परसम्म लखेटेपछि बल्ल, सुटिङस्थल वरिपरि शान्ति छायो । अनि मुमताज गाडीबाट निस्केर काष्ठमण्डप भित्र छिरिन् । मान्छेको भगदौडपछि प्रहरीले भागेकाहरूको जुत्ता संकलन गर्दा पुगनपुग आधा ट्र्याक्टर थियो ।
सुटिङ शुरु भयो । गीतमा मुख्य भूमिका जीनत अमानको थियो भने अन्य हिप्पीको भूमिकामा । गाँजा तान्दै लठ्ठिएर गाइएको गीत हो यो । जीनत अमानका अनुसार उनले साँच्चिकै गाँजा सेवन गरेकी थिइन्, जसकारण पछि आमाबाट गाली खानुप¥यो । उनले पछि एउटा अन्तर्वार्तामा उक्त गीतको सुटिङ सकेपछि पब्लिकले आफूमाथि ढुंगा प्रहार गरेको र प्रहरी घेरामा सुरक्षित होटल पुगेको बताएकी थिइन् । तर, हामीले त्यो दृश्य भने हेर्न पाएनौं किनभने रात निकै छिप्पिइसकेकाले सुटिङलाई बीचैमा छोडेर घर फर्कनुपर्यो ।
देव आनन्दले सन् २००७ मा आत्मकथा प्रकाशित गरेका थिए– रोमान्सिङ विथ लाइफ । उक्त पुस्तकमा हरे रामा, हरे कृष्णा चलचित्र निर्माणसम्बन्धी रोचक प्रसंग उल्लेख छ । दिवंगत राजा वीरेन्द्र र रानी ऐश्वर्याको बिहे सन् १९७० को फेब्रुअरी २७ मा सम्पन्न हुँदा देव आनन्द पनि काठमाडौं आएका थिए, शाही पाहुना बनेर । काठमाडौं बसाइकै क्रममा जर्मन अभिनेता क्रिश्चेन डोर्मरसित भेट भयो । दुबैको पहिलो भेट सन् १९६२ मा बर्लिनमा आयोजित फिल्म फेस्टिभलमा भएको थियो । निकै समयपछि भएको उक्त भेटले दुबै निकै उत्साहित बने र रमाउने मुडमा त्यसबेला हिप्पीहरूको केन्द्र बनेको झोछेँ–वसन्तपुर घुम्न हिँडे । देवले त्यहाँ ती सबै दृश्य आफ्नै आँखाले देखे जुन हिप्पीहरूबारे सुनेका थिए । खुला रुपमा गाँजा सेवन गर्नेदेखि लाजै नमानी स्त्री पुरुषबीच अश्लील व्यवहारसम्म । त्यसबेला उपस्थित प्रायः सबैले सयपत्री फूलको माला लगाएका थिए भने निधारमा रातो टीका थियो ।
सबै गोरा थिए तर एउटी भने गहुँगोरी थिइन् । भुइँमा बसेर ब्वाइफ्रेण्डसित उस्तै व्यवहारमा तल्लीन । चश्मा भुइँमै थियो । एक जना युवक उठेर जान लाग्दा खुट्टाले कुल्चिन के लागेको थियो युवतीले भनिन्– बब, मेरो चश्मा । उनलाई नजिकबाट नियालिरहेका देवले बोलीबाट थाहा पाए कि ती युवती भारतीय हुनुपर्छ । देव सोल्टी होटलमा बसेका थिए । होटल पुग्नेबित्तिकै एक कर्मचारीसित हिप्पीहरूको झुण्डमा बस्ने ती भारतीय युवतीबारे सोधे । संयोगले ती नेपाली देवले संकेत गरेकी युवतीबारे जानकार रहेछन् । भोलिपल्ट उनले स्वयम्भूमा भेटाइदिए । युवतीले देख्नेबित्तिकै ‘म र मेरी आमा तपाईंको प्रशंसक हौँ’ भनिन् । देवले आमा कहाँ छिन् भनेर सोधे । जवाफ दिइन्, ‘आमा क्यानाडाको मोन्ट्रियलमा, म यहाँ काठमाडौंमा बिदा मनाउन आएकी । मेरो नाउँ जसबिर हो तर अहिले जेनिस बनेकी छु । आमाको पैसा चोरेर भाग्दै यहाँ आइपुगेकी हुँ । मातापिताको सम्बन्धविच्छेद भइसकेको छ । बुबा भारतको पञ्जाबमा बस्छन् ।’
उनले छुट्टिने बेला आमा र आफ्नालागि अटोग्राफ मागिन् । देव होटल फर्के र ती युवतीको कथामा आधारित रहेर चलचित्र निर्माण गर्ने सोच बनाए । उनले राजा महेन्द्रसँग भेटेर आगामी चलचित्र नेपालमा छायांकन गर्न अनुमति मागे । महेन्द्रले पटकथा लेख्नका निम्ति पोखरामा भाइ वसुन्धराको फिसटेल होटलमा बास, सुरक्षार्थ एकजना प्रहरी निरीक्षकसहित घुम्न एकजना गाइडसमेत उपलब्ध गराइदिए । देव त्यहाँ गएर बसे र ३ दिनमै पटकथा लेख्न थाले । भारत फर्केर चलचित्रका निम्ति हिप्पी युवतीको भूमिकामा जीनत अमानलाई चुने । जीनतले त्यसबखत भखरै मिस एशिया प्यासिफिक इन्टरनेशनल उपाधि जितेकी थिइन् । १९ वर्षकी उनी चलचित्रमा देवको बहिनी बनेकी थिइन् । यो उनको चौथो फिल्म थियो । तर, यही चलचित्रले उनलाई फिल्म जगतमा चिनायो । र, सर्वश्रेष्ठ सहायक अभिनेत्रीको पुरस्कारसमेत दिलायो ।
अधिकांश सुटिङ नेपालमै सकाएको यो चलचित्रको भक्तपुरमा सुटिङ हेर्न तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रसमेत पुगेको देवले आत्मकथामा उल्लेख गरेका छन् । ज्ञानेन्द्रले शाही हेलिकप्टर चढ्न दिएर मद्दत गरेको कुरा त्यसमा छ । फिल्ममा उनले हिप्पीहरूलाई पनि खेलाएका थिए गाँजा ख्वाउने आश्वासन दिएर । देवको सन् २०११ मा निधन भइसकेको छ ।
टिप्पणीहरू