‘राजनीति बिचौलियाको हातमा पुग्यो, कांग्रेस एमाले मुखौटा’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीति बिचौलियाको हातमा पुगेको दावी गर्नुभएको छ । बाहिरबाट हेर्दा नेपाली कांग्रेस र एमाले सरकारको नेतृत्वमा भए पनि भित्रभित्रै दलाल र बिचौलियाले सत्ता चलाइरहेको उहाँले बताउनुभयो ।
बिचौलियाहरूले घुमाएर सरकारमा रहेका नेताहरूलाई रातारात उठबस गराएको भन्दै प्रचण्डले कटाक्ष गर्नुभएको छ । राष्ट्रिय कर्मचारी महासंघको १८औँ स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘अहिले जो सरकारमा भएका राजनीतिक दलका नेता छन्, तिनको हातमा राजनीति छैन । बरु, उनीहरुको राजनीति विचौलिया र दलालहरुको हातमा छ भन्ने कुरा प्रष्टै देखिएको छ । उनीहरु त खाली मुखौटामात्रै हुन् ।’
बिचौलियाहरूले संख्याको तागत देखाएको भन्दै उहाँले जनताको शक्ति देखाउने बेला आएको पनि बताउनुभयो । सुशासनलाई उच्च प्राथमिकतामा राखेर भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्ने प्रक्रियाको थालनी गरेकै कारण आफू नेतृत्वको सरकारलाई हटाइएको पनि प्रचण्डको जिकिर छ ।
माओवादीले सरकार छोड्दै गर्दा जनताप्रतिको निष्ठासहित बाहिरिएको उहाँले स्मरण गराउनुभयो ।
टिप्पणीहरू