दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता, सात वर्ष कैद सजाय माग
![दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता, सात वर्ष कैद सजाय माग](https://janaaastha.prixacdn.net/media/albums/durga_prasai_FbVbBqwzUv.jpg)
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा ३२ अर्ब लगानी गरेको 'फेक प्रमाण' सार्वजनिक गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले आज साइबर अपराध कसुरमा जिल्ला अदालत काठमाडौँमा आरोपपत्र दर्ता गरेको हो । विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा ५ वर्ष कैद र १ लाख जरिवाना गर्न मागदाबी गरिएको छ । त्यसैगरी प्रसाईंले दोहोर्याएर सोही अपराध गरेको भन्दै थप दुई वर्ष सजायको पनि माग गरिएको छ ।
मङ्सिर ४ गते भक्तपुरस्थित निवासबाट समातिएका प्रसाईं अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को हिरासतमा छन् । साइबर ब्युरोको हिरासतमा रहेका उनलाई आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा अनुसन्धान तथा बयानका लागि केही दिनअघि सिआइबी लगिएको हो ।
कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री ओलीको लगानी रहेको भन्ने कागजात आफूले तयार नगरेको र उतैबाट एकजना नेपालीले ह्वाट्सएपमा पठाएपछि सार्वजनिक गरेको प्रसाईंले बयान दिएका छन् ।
टिप्पणीहरू