आगामी चुनावमा माओवादी पहिलो बन्ने प्रचण्डकाे दाबी

आगामी चुनावमा माओवादी पहिलो बन्ने प्रचण्डकाे दाबी
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी २०८४ मा हुने निर्वाचनबाट माओवादी पुनः पहिलो शक्तिमा स्थापित हुने बताउनुभएको छ ।

रुपन्देहीको तिलोत्तमामा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले जहाँ गएपनि पछिल्लो समय माओवादीको पक्षमा नारा घन्किने गरेको उल्लेख गर्नुभयो । उहाँले विगतमा सरकारमा हुँदा गरिएको जनपक्षीय कार्यले पुनः शक्तिशाली राजनीतिक दल बन्ने विश्लेषण गर्नुभएको हो । 

उहाँले भन्नुभयो, ‘हालैको उप निर्वाचन परिणामले को सिद्धिँदैछ, को पुनस्र्थापित हुँदैछ भन्ने देखाएको छ ।’ विगतमा माओवादी केन्द्रको नेतृत्वमा भ्रष्टाचार विरुद्ध सुशासन अभियान, सामाजिक न्याय र राष्ट्रको हितमा छिमेकी देशहरुसँग विस्तार गरिएको सम्बन्धले जनतामा सकारात्मक छाप परेको प्रचण्डको निचोड छ ।

माओवादीप्रतिको जनताको अगाध विश्वास टुट्न नदिने वचनबद्धता जनाउनुभएको छ । कार्यक्रमम राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव राम परियारसहित नेता कार्यकर्ताको ठूलो समूह माओवादी केन्द्रमा समाहित भएको थियो । कांग्रेस–एमाले परित्याग गरेकाहरु पनि माओवादीमा प्रवेश गरेको बताइन्छ ।

टिप्पणीहरू