भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद राख्न नपाएकोमा प्रधानमन्त्रीको आक्रोश
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको मुद्दामा हद म्यादबारे गलत ब्याख्या गरिएको बताउनुभएको छ ।
ज्यापु दिवसको अवसरमा आज वसन्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रमपूर्ण प्रचारका कारण भ्रष्टाचारको मुद्धा पाँच वर्षभित्र टुंगो लगाउनेसम्बन्धी ऐन पास हुन नसकेको दावी गर्नुभयो । आफूहरुले नचाहँदा-नचाहँदै पनि भ्रामक प्रचारले गर्दा ऐन विगारेर पास गर्नुपरेको प्रधानमन्त्री ओलीको भनाई छ ।
‘अस्ति एउटा ऐन हामीले बिगारेरै पास गर्नुपर्यो, के बिगार्नुपर्यो भने भ्रष्टाचारमा उजुरी परेको कहिलेसम्ममा कारबाही चलाउनैपर्ने भन्ने केही छैन’, उहाँले भन्नुभयो, ‘भ्रष्टाचारमा उजुरी परेको छ, मान्छे बुढो भइसक्यो, बितेर गइसक्यो, न सफाई पाएको छ, न कारबाही भएको छ, यस्तो हुनु हुँदैन ।’
पाँच वर्षभित्र कारवाही हुनुपर्छ भन्ने आशयलाई पाँच वर्षपछि छोडिदिने भनेर गलत ब्याख्या गरिएको प्रधानमन्त्रीको आरोप छ । ‘भ्रष्टाचारको उजुरी परेको ढिलोमा पनि ५ वर्षभित्र कारबाही भएकै हुनुपर्छ, त्यसको छिनोफानो भएकै हुनुपर्छ भनेर हामीले कुरा गर्यौँ । तर ५ वर्षपछि कारबाही नचलाउने, पाँच वर्षपछि छोडिदिने भनेर कुरा गरे', उहाँले भन्नुभयो, 'छोड्ने भनेको छैन, ५ वर्षभित्र कमसेकम कारबाही टुंग्याएको हुनुपर्छ भनेको हो, ५ वर्ष भन्यो भनेर त्यो हटाउन बाध्य बनाए ।’
सामाजिक सञ्जालको दुरुपयोग गरेर भ्रम फैलाउने प्रवृति पछिल्लो समय झन बढेको प्रधानमन्त्री ओलीको गुनासो छ । सामाजिक सञ्जालमा राम्रोभन्दा नराम्रो कन्टेन बढी प्रवाह हुने गरेको र त्यसमा सचेत रहनुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘अचेल फेसबुक, युट्युब हेर्यो, सुन्नै नसकिने, हेर्नै नसकिने हुन्छ ।’
प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालको एउटा भ्रमपूर्ण समाचार सुनेर वामदेव गौतमले फोन गरेको सन्दर्भ पनि सुनाउनु भयो ।
टिप्पणीहरू