परराष्ट्रमन्त्रीलाई बेल्जियममा प्लेकार्ड देखाएको विषय पेचिलो बन्दै

परराष्ट्रमन्त्रीलाई बेल्जियममा प्लेकार्ड देखाएको विषय पेचिलो बन्दै

उपमहासचिवले ‘भुटानी शरणार्थी काण्ड छानविन गर’ भन्दै विरोध गरेपछि महासचिवले ‘किन विरोध गरेको ?’ भन्दै आपत्ति जनाएकी छन् । नेदरल्याण्डको हेगबाट बेल्जियम पुग्नुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको विरोध गर्दै प्लेकार्ड देखाइएको विषय निकै पेचिलो बन्दै गएको छ । बुधबार बेल्जियममा मन्त्री राणाविरुद्ध केही युवाहरुले नाराबाजी गरेका थिए । 

उनीहरुले ‘गिरिबन्धु, भुटानी शरणार्थी, टेरामक्स, वाइडबडी काण्डको छानबिन गर’, ‘लोकतन्त्र जिन्दावाद’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । मन्त्री राणाविरुद्ध नाराबाजी गर्नेमा अरुसँगै गैर आवासीय नेपाली संघ बेल्जियम शाखाका उपमहासचिव राजेन्द्र कार्कीसमेत देखिएपछि नयाँ विवाद शुरु भएको छ । 

मन्त्री राणाविरुद्ध कार्की स्वयम् नाराबाजीमा उत्रिएको घटनापछि संघकी महासचिव रुविना शर्माले कारवाहीको माग गरेकी छन् । उनले संघको तर्फबाट विज्ञप्ति जारी गर्दै उपमहासचिव कार्कीको हर्कतप्रति खेद प्रकट गरेकी हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘परराष्ट्र मन्त्रालय गैर आवासीय नेपाली संघको अभिभावक मन्त्रालय रहेको तथ्यलाई ध्यानमा राख्दै, कसैको इशाराको प्रत्यक्ष निर्देशनमा उपमहासचिव कार्कीले संघको भावनालाई लत्याउँदै मन्त्रीविरुद्ध प्लेकार्ड प्रदर्शन गर्नु र राष्ट्रको इज्जत बोकेर आएकी मन्त्रीलाई विदेशी भूमीमा अपमान गर्नु एकदमै निन्दनीय कार्य हो ।’

मन्त्री राणाविरुद्धको प्रदर्शनले निजी व्यवसायलाई समेत असर गरेको संघको ठहर छ । थप भनिएको छ, ‘अनुमति बिना निजी व्यवसायमा बाधा पुर्याउने गरी नेपालीद्वारा सञ्चालित रेष्टुरेण्ट अगाडि गरिएको प्रदर्शनलाई अशोभनीय मान्दै भविष्यमा यस्ता घटनाहरुलाई रोक्न सबै सदस्य र सम्बद्ध पक्षलाई संयमित र जिम्मेवार रहन अनुरोध गर्दछौं ।’

टिप्पणीहरू