सहकारी ठगीमा मुद्दा दायरअघि रविकी श्रीमतीको चुनौती : सहकारीको ऋण भए प्रमाण देखाउनू
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्नो बैंकिङ कारोबारबारे भ्रमपूर्ण समाचार फैलाइएको भन्दै गुनासो पोखेकी छन् ।
रविमाथि सहकारी ठगीमा अनुसन्धान चलिरहँदा प्रहरी स्रोतलाई उद्धृत गर्दै मिडियामा लामिछाने दम्पत्तिको पाँचवटा बैंक खातामा २१ करोड रुपैयाँ कारोबार देखिएको समाचार आइरहेका छन् । त्यसप्रति आपत्ति जनाउँदै निकिताले संवेदिनहीन समाचार सम्प्रेषण गरिरहेको भन्दै दुःखमनाउ गरेकी हुन् ।
बुबा (उद्धव पौडेल)सँग गरेको फोनवार्ताको सन्दर्भ उल्लेख गर्दै निकिताले चार करोडमा किनेको घरको किस्ता अझै तिरिरहेको बताउँदै आफ्नो खातामा यतिधेरै रकम नभएको दावी गरेकी छन् । ‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नु भयो– तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड, तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न !’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘मैले पनि हाँस्दै भने–त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दैछु।’
आफ्नो सम्पूर्ण बैंकिङ कारोबारको विवरण प्रहरीलाई बुझाइसकेको, तर केही मिडियाले आफूखुशी अनुमानको भरमा समाचार लेखेको निकिताको दावी छ । थपेकी छन्, ‘समाचार लेख्नेमाथि दया लागेर आउँछ । खाता मेरो हो । यति–उति पैसा छ भनेर आ–आफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थें नि !’
निकिताले आफ्ना श्रीमान रविले कुनै सहकारीबाट ऋण लिएको प्रमाण भए देखाउन चुनौतीसमेत दिएकी छन् ।
कात्तिक २ गते काठमाडौँस्थित रास्वपा मुख्यालयबाटै पक्राउ परेका रविमाथि तीन वटा कसुरमा मुद्दा दर्ता गर्न रायसहितको अनुसन्धान प्रतिवेदन तयार भइसकेको छ । कास्की प्रहरीले हिजो सरकारी वकीलको कार्यालयमा बुझाएको प्रतिवेदनमा सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरणको कसुरमा मुद्धा दर्ता गर्न सिफारिस गरिएको छ । उनलाई आज आठौँ पटक म्याद थपको लागि कास्की जिल्ला अदालतमा पेश गरिएको छ ।
टिप्पणीहरू