कुलमान भन्छन्- अँध्यारोमा रमाउनेहरुले लोडसेडिङको हल्ला फिँजाए

कुलमान भन्छन्- अँध्यारोमा रमाउनेहरुले लोडसेडिङको हल्ला फिँजाए
सुन्नुहोस्

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ हुँदैछ भनी योजनावद्ध हल्ला फैल्याईएको भन्दै असन्तुष्टि जनाएका छन् । 

नेपाल पूर्वाधार पत्रकार समाजद्वारा आज अयोजित कार्यक्रममा बोल्दै उनले लोडसेडिङ हुँदा रमाउने जमातले त्यस्तो हल्ला फिँजाएको दावीसमेत गरे । उद्योगको बक्यौता उठाउन लाइन काट्दा चित्त नबुझाउनेहरु प्राधिकरणविरुद्ध लागेको र लोडसेडिङ घोषणा भएको हल्ला गराएको घिसिङको गुनासो छ । 

केही जलविद्युत आयोजनाहरुमा उत्पन्न प्राविधिक कारणले बिजुली वितरणमा समस्या भएको स्पष्ट पार्दै उनले लोडसेडिङको कुनै सम्भावना नरहेको बताए । माथिल्लो तामाकोशी र कालिगण्डकी बन्ने बित्तिकै दीर्घकालीनरुपमै लोडसेडिङ समस्या समाधान हुने घिसिङले दावी गरे । 

उहाँले ऊर्जा मन्त्रीप्रति संकेत गर्दै बाढीको कारण क्षति भएका आयोजनाहरु बनाउन असहयोग भएको बताउनु भयो । 

'विद्युत प्राधिकरण नाफामा गयो भन्नासाथ खुशी नहुने, विद्युत प्राधिकरण घाटा भयो भन्नासाथ खुशी हुने जमात पनि छ । लोडसेडिङ भयो उद्योगमा डिजेल चलाउनु पर्यो । त्यसैले उद्योगबाट उत्पादन भएको वस्तुको मूल्य बढाएका पनि होलान् । विगतमा लोडसेडिङको बेलामा डिजेल नचालाउँदा पनि २० देखि २२ घण्टा जनतालाई लोडसेडिङमा पारेर प्रयोग गरेको विद्युतबाट उत्पादित वस्तु मूल्य बढाएर बेचिसक्नु भयो', उनले भने, 'तर डेडिकेटेड ट्रंकलाइनको पैसा तिर्नु पर्दैन । अहिले आएर प्राविधिक कारणले दुई चार दिन समस्या हुँदा लोडसेडिङ घोषणा भयो भन्ने हल्ला गरिरहेको छ । लोडसेडिङ हुँदा रमाउने जमातले हल्ला गरिरहेको छ । तर, नेपालमा लोडसेडिङ हुँदैन । भएको छैन ।' 

जनतालाई लोडसेडिङमा राखेर उद्योगले प्रयोग गरेको विद्युतको रकम जुनसुकै हालतमा उठाउनुपर्नेमा पनि घिसिङले जोड दिएका छन् । उर्जा मन्त्री दिपक खड्काप्रति संकेत गर्दै उनले बाढीका कारण क्षति भएका आयोजना बनाउन सहयोग नभएको दुखेसोसमेत पोखे ।

टिप्पणीहरू