कसरी रचियो रवि सुत्दै गर्दा हिरासतको फोटो काण्ड ?

कसरी रचियो रवि सुत्दै गर्दा हिरासतको फोटो काण्ड ?
सुन्नुहोस्

प्रहरी हिरासतमा रहेका रवि लामिछानेको फोटो बाहिर ल्याएर सरकारको बदनाम गराउने योजनावद्ध चालअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना नेताले डा.निकोलस भुषाललाई परिचालन गरेको खुलासा भएको छ । प्रहरीको व्यावसायिकतामाथि नै प्रश्न उठ्नेगरी हिरासतमा रहेका थुनुवाको तस्वीर बाहिरिएको यस प्रकरणको अनुसन्धान चलिरहँदा यस्तो तथ्य फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा एक व्यक्ति सुतिराखेको फोटो केही दिनदेखि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती बनाइएको छ । शुरुमा भुसालको फेसबुकमा पोष्ट भएको फोटो त्यसपछि रास्वपाका नेता-कार्यकर्ता र समर्थकले शेयर गर्न थालेका थिए । हिरासतमा रहेका आफ्ना सभापतिको गोप्य फोटो बाहिर ल्याएको भन्दै चर्को आपत्ति पनि उनीहरुले नै जनाइरहेका छन् । 

प्रहरीको कार्यक्षमता र नियतमा प्रश्न उठाउँदै आपत्ति जनाउनेमा सबैभन्दा अगाडि छन्,सो पार्टीका नेता तथा रविका निकट सहयोगी दिपक बोहोरा । आफ्ना सभापतिको फोटो बाहिर ल्याइएको भन्दै चर्को स्वरमा कुर्लने उनै बोहोराले फोटो खिचाएर सार्वजनिक गराएको स्क्रिनसट जनआस्थाले फेला पारेको छ । जबकि उनले हिजोमात्र प्रहरीले फोटो सार्वजनिक गरेको आरोप लगाउँदै यसको मूल्य महँगो पर्ने चेतावनी दिएका थिए ।

'रवि हिरासतमा दिउँसै सुत्छन् ?', जनआस्थाको प्रश्नमा प्रहरी स्रोत भन्छ, 'खै,अरु दिन दिउँसै सुतेको थाहा थिएन । उहाँ सुतेजस्तो गर्ने र त्यहीबेला फोटो खिचेर बाहिर ल्याउने योजनामा यस्तो नाटक गरिएको देखिन्छ ।'

बोहोरा र भुसालको ह्वाट्सअप कुराकानीको स्क्रिनसटमा कसरी फोटो खिच्ने र फेसबुकमा पोष्ट गरेर भाइरल बनउनेबारे योजना बुनिएको छ । शुरुमा भुसालले 'रवि दाइले ३ बजे भन्नुहुन्छ' भनेका छन् । त्यसपछि बोहोराले 'कुरा भयो ?' भनेर सोधेकोमा उनको जवाफ छ, ‘रवि दाइ ३ बजे सुतेसी भन्नुहुन्छ ।'
 

अर्को स्क्रिनसटमा बोहोराले 'ओके, फोटो खिच्यौ ?' भन्दै फेरि ताकेता गरेका छन् । जवाफमा भुसालले सञ्जालमा अहिले भाइरल भैरहेको रविको उक्त फोटो पठाएका छन् । त्यसपछि खुशी हुँदै बोहोराले तत्काल फेसबुकमा पोष्ट गर्न भुसाललाई निर्देशन दिन्छन् । 'अहिले तिम्रो एफबी (फेसबुक)मा हाल । म भोजराज भाइलाई भन्छु अनि भाइरल बनाउनुपर्छ', उनको निर्देशनमा भुसालले 'हस दाइ' भनेका छन् ।
  
मङ्सिर ३० गते बिहान भएको उक्त कुराकानीअनुसार दिउँसो ३ बजे फोटो खिचिएको बुझिन्छ । दिउँसो ३ बजे नै रवि सिरक ओढेर सुत्नु र त्यतिबेलै फोटो खिचिनुले उनको समेत योजनामा दिपक बोहोराले यो सबै गराएको प्रष्ट हुन्छ । कास्की प्रहरी स्रोतले पनि फोटो दिउँसैको भएको बताएको छ । 'रवि हिरासतमा दिउँसै सुत्छन् ?', जनआस्थाको प्रश्नमा प्रहरी स्रोत भन्छ, 'खै,अरु दिन दिउँसै सुतेको थाहा थिएन । उहाँ सुतेजस्तो गर्ने र त्यहीबेला फोटो खिचेर बाहिर ल्याउने योजनामा यस्तो नाटक गरिएको देखिन्छ ।' 

स्मरण रहोस्,यस प्रकरणमा जोडिएका माथि उल्लेखित तीनै जना सस्तो लोकप्रियताका लागि स्टन्टवाज गर्ने पात्रका रुपमा परिचित छन् । न्युज २४ देखि नै रविको निकट भएर काम गरेका बोहोरा त्यही बेलादेखि कोर टिमका सदस्य छन् । रवि गृहमन्त्री भएका बेला पिए बसेका उनले प्रहरी सरुवा,बढुवामा चर्को उठ्तिपुठ्ती गरेको आरोप थियो । रवि र निकिताको आर्थिक कारोबार हेर्ने जिम्मासमेत उनलाई नै दिइएको छ भनिन्छ ।

आफूलाई राजावादी अभियन्ता भनाउँदै आएका डा. निकोलस भुसाल पनि चर्चामा आउन सामाजिक सञ्जालमा अन्टसन्ट लेखिरहन्छन् । आफूलाई चित्त  नबुझेका विषयमा उग्र प्रतिक्रिया दिने उनी बेला-बेला सडकमा पनि उत्रिने गरेका छन् । रवि गृहमन्त्री भएका बेला एकपटक माइतीघर मण्डलाबाट समातिएका उनीमाथि गाँजा खाएर अराजकता निम्त्याएको आरोप लागेको थियो । 

दिपक बोहोराले 'भोजराज भाइ' भनेका पात्र युट्युबर भोजराज थापा हुन् । युट्युबमा सनसनीपूर्ण शीर्षक राखेर 'डलर झार्ने खेति' चलाइरहेका उनी पनि सञ्जालमा भाइरल छन् ।

टिप्पणीहरू