सभापतिकी श्रीमतीको कारण सांसदहरुबीच नोकझोक

सभापतिकी श्रीमतीको कारण सांसदहरुबीच नोकझोक

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुबीच नोकझोक चलेको छ । चार महिनापछि बसेको बैठकमा माओवादी केन्द्रका सांसदले समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेका छन् । सांसद अमनलाल मोदीले सभापति पोखरेललाई राजीनामाबाट मार्गप्रशस्त गर्न आग्रह गरे । 

‘सहकारीको कुरामा तपाईंको परिवार (पत्नी अञ्जना कोइराला) पनि जोडिएपछि प्रश्न उठेको छ, समितिकै सभापतिमाथि यति गम्भीर प्रश्न उठेपछि केही न केही बोल्नुपर्छ’, उनले भने, ‘चेक एन्ड ब्यालेन्सको कुरा छ । लेखा समितिको सभापति प्रतिपक्षीको हुने अभ्यास छ, सरकारको छाया यो समितिमा परेको भनेर प्रश्न पनि उठिरहेको छ । यसकारण यहाँले मार्गप्रशस्त गरेको राम्रो हुन्छ ।’

एमाले सांसद योगेश भट्टराईले भने सभापति पोखरेल ‘इमान्दार व्यक्ति’ रहेको उल्लेख गर्दै बचाउ गरे । पोखरेलकी पत्नी अञ्जना अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेको प्रसंगमा उनले भने, ‘सभापतिले आफ्नो परिवारलाई छोपेर, लुकाएर राख्ने कुरा भएन । सभापतिज्यू एमालेको प्रतिनिधि, इमानदार सदस्य र सांसद भएपछि त्यस्तो गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । उहाँकी श्रीमती पक्कै पनि अदालतमा हाजिर हुन जानुहुन्छ । उहाँ न्यायिक निरुपण गर्ने निकायमा जानुहुन्छ भन्ने विश्वास छ ।’

एमालेकै अर्का सांसद गोकुल बाँस्कोटाले पनि प्रश्न उठ्दैमा राजीनामा माग्नु असान्दर्भिक भएको भन्दै सभापति पोखरेलको बचाउ गरे । ‘उहाँको परिवारको नाम आउनेबित्तिकै सभापति नै अपराधी हो जस्तोगरी हमला नगरौँ । आरोप लाग्दैमा राजीनामा किन ? यहाँ सरकारमा नगएको को छ ?’, उनले भने, ‘सभापतिको हकमा कुरा उठ्यो । प्रहरी पस्यो प्रतिवेदन तयार भयो, अदालत प्रवेश गर्यो, अब अदालती प्रक्रियाबाट आउने निर्णय मानिन्छ ।’

सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले भने श्रीमतीको अपराधमा श्रीमान जोडिन्छ कि जोडिँदैन ? भनेर जवाफ मागेका छन् । यसबारे विद्यमान कानुनबारे बताइदिन आग्रह गर्दै उनले भने, ‘श्रीमतीले गल्ती गर्दा भोलि श्रीमान् फस्ने हुन् कि हैन, कानुनले के भन्छ ? मलाई चिन्ता छ । पक्राउ पुर्जी जारी भएको उहाँको श्रीमतीलाई होला, सभापतिलाई हैन होला । एउटाले अपराध गर्दा अर्कोलाई मुछ्नु हुँदैन । तर पनि श्रीमान श्रीमतीको भएको कारण नैतिकता जोडिएर आउछ, त्यसमा के हुन्छ ?’

टिप्पणीहरू