विनोद चौधरीको निम्तोमा श्रीलंकाका पूर्व राष्ट्रपति आउँदै

विनोद चौधरीको निम्तोमा श्रीलंकाका पूर्व राष्ट्रपति आउँदै

श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमासिंघे भोलि नेपाल आउने भएका छन् । काँग्रेस सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीको निम्तोमा आउन लागेका उनी लुम्बिनी जाने बताइएको छ ।

श्रीलंकाका नवौं राष्ट्रपति रनिल र चौधरी व्यावसायिक साझेदार रहेको स्रोतको दाबी छ । चौधरीले श्रीलंकाका होटल,बैंक तथा वित्तीय संस्थामा लगानी गरेका छन् । त्यहाँको आर्थिक अवस्था कमजोर भएको मौकामा गत वर्ष चौधरीले सिंगापुरमा रहेको सिजी क्यापिटल पार्टनरको नाममा युनियन बैंकको ७१ प्रतिशत सेयर खरिद गरेका थिए । त्यसैगरी ताज समुन्द्र कोलम्बो होटलमा पनि लगानी छ । उनले तीलगायत विदेशका कुनै पनि आफ्नो लगानीबारे नेपालमा हालसम्म आधिकारिक रुपमा बताएका छैनन् । तर, उनै व्यक्ति नेपालको एक मात्र अर्ब डलरपति भनाउँदै हिँड्छन् ।

श्रीलंकाका पूर्व राष्ट्रपति रनिलले उनीसँग मिलेर धेरै लगानी गरेको बताइन्छ । सन् २०२२ जुलाईदेखि सन् २०२४ सेप्टेम्बरसम्म राष्ट्रपति रहेका उनी त्यसअघि सन् १९९३ देखि सन् २०२२ सम्म पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । प्रधानमन्त्री हुनुअघि उनले अर्थ,रक्षा,विज्ञान तथा प्रविधि र महिला, बालबालिका तथा सामाजिक सशक्तिकरण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

सन् २०२२ को जुलाईमा मुलुक छाड्नुअघि तत्कालीन राष्ट्रपति गोटाबाये राजपाक्षेले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । लगत्तै राजपाक्षे मुलुकबाट भागेपछि उनी कार्यवाहक राष्ट्रपति बने । तर,गत निर्वाचनमा रनिललाई राष्ट्रपतिका वामपन्थी उम्मेदवार अनुरा कुुमारा दिशानायेकेले पराजित गरेका थिए । 

दुई वर्षअघि मुलुक छाडेर माल्दिभ्स हुँदै सिंगापुर, थाइल्याण्ड पुगेका गोटाबाये राजपाक्षेलाई पनि चौधरीले केही महिनाअघि नेपाल बोलाए । श्रीमतीसहित भुटान हुँदै आएका राजपाक्षे ललितपुरको झम्सिखेलस्थित होटल भिभान्ता र चितवनमा पनि चौधरीकै होटलमा बसेका थिए ।
 

टिप्पणीहरू