गगन थापा किन अचानक भारत गए होलान् ?

गगन थापा किन अचानक भारत गए होलान् ?
सुन्नुहोस्

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा गोप्य रुपमा भारत पुगेका छन् । नेपालगञ्जबाट स्थलमार्ग हुँदै उनी हिजो बिहान दशगजा काटेर भारत पुगेको बताइएको छ । 

भ्रमणका दौरान गगनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वासपात्र मानिने आदित्यनाथ नेपाल मामिलामा चासो राख्ने भारतीय नेतामध्ये एक हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्ली भ्रमण गराउन नेपालका तर्फबाट एकल प्रयास भैरहेको सन्दर्भमा सत्ता साझेदार दलका शक्तिशाली महामन्त्री सुटुक्क भारत पुग्नुलाई चासोका साथ हेरिएको छ । भ्रमणको वातावरण बनाउन केही दिनअघि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पनि भारत पुगेकी थिइन् ।

तर, भारतीय संस्थापन पक्षले राणालाई महत्व नदिएपछि उनी प्रधानमन्त्रीको सन्देश नसुनाई फर्किएको चर्चा भैरहँदा अर्को पहलको रुपमा गगनलाई पठाईएको हुनसक्ने अनुमान गरिएको छ ।

स्मरणीय छ, कांग्रेसको आन्तरिक राजनीतिमा पछिल्लो समय सभापति शेरबहादुर देउवातिर ढल्किएको भनिएका गगन वर्तमान सरकारको निरन्तरताको पक्षमा छन् । सरकार संचालनका लागि समझदारी जुटाउन गठित दुई दलीय संयन्त्रको सदस्य पनि हुन् उनी । 

प्रधानमन्त्री नियुक्त भएलगत्तै दक्षिणको भ्रमण गर्ने ओलीको चाहना भए पनि उताबाट औपचारिक निम्तो आएको छैन । पार्टीको पछिल्लो सचिवालय बैठकमा ओलीले भारतले निम्तो नदिएकोमा दु:खमनाउ गर्दै 'बोलाए जाने हो, नबोलाए के गर्न सकिन्छ र !' भनी निराशा पोखेको बताइएको छ ।

 

टिप्पणीहरू