हेडसरले छात्राको गोप्य अंग छोएको आरोपपछि स्कुलमा आगो
प्राध्यानाध्यापकले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै आक्रोशित विद्यार्थीले विद्यालयमा आगो झोसेका छन् । महोत्तरीको जलेश्वरस्थित लक्ष्मीचण्डी मुरारका माध्यामिक विद्यालयका विद्यार्थीले अभिभावकसमेतको सहयोगमा विद्यालय परिसरभित्रै टायर बालेका हुन् ।
प्राध्यानाध्यापक सञ्जिव झामाथि कक्षा ७ मा अध्ययनरत एक छात्राको गोप्य अंगमा नियतवश छोएको उनीहरुको आरोप छ । शुक्रबारको उक्त घटनापछि आक्रोशित विद्यार्थी र अभिभावकले प्राध्यानाध्यापकमाथि कारबाहीको माग राखेका छन् ।
आज विद्यालय खुलेलगत्तै नाराबाजी गरेका उनीहरुले विद्यालय परिसरमा टायर बालेर विरोध जनाएका हुन् । विद्यालयको वातावरण तनावग्रस्त बनेपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्राध्यानाध्यापक र आन्दोलित विद्यार्थीहरुलाई शान्त पारेर घटनाबारे छलफल थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तु जैसवालले जानकारी दिए । उनका अनुसार छलफल जारी छ ।
‘शुरुमा त विद्यालयको आन्तरिक विषय होला भन्ने थियो, तर विद्यार्थी र अभिभावकले चर्को नाराबाजीसहित आगो बाल्न थालेपछि हामीले माहोल शान्त बनाउने प्रयास गर्यौ’ डिएसपी जैसवालले जनआस्थासँग भने, ‘अहिले छलफल जारी छ । ती छात्रा र उनका साथीहरुलाई बोलाएर अस्ति के भएको हो, बुझ्दैछौँ ।’
प्रहरीका अनुसार प्राध्यानाध्यापक झाले आरोप अस्वीकार गरेका छन् । शुक्रबार ती छात्रा विद्यालय समयभन्दा ढिलो कक्षामा आएको र आफूले सामान्य सम्झाईबुझाई गरेको उनको दाबी छ ।
झाको भनाई उद्धृत गर्दै डिएसपी जैसवालले भने, ‘मैले नानीलाई नर्मल सम्झाउन खोजेको हुँ, उनीहरुलाई त्यस्तो नलाग्नुपर्ने हो ।’
टिप्पणीहरू