ग्लोबल आइएमई बैंकको मुलुकभर प्रभातफेरि
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सव मनाउँदै छ । सो अवसरमा देशव्यापी प्रभातफेरि आयोजना गरेको छ । बैंकले वित्तीय साक्षरता तथा बैंकिङ्ग सचेतना अभिवृद्धिका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातवटै प्रदेशका मुख्य शहरमा प्रभातफेरि कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
ग्लोबल आइएमई बैंकले आगामी बिहीबार आफ्नो स्थापनाको १८औं वर्ष पूरा गर्दैछ । काठमाडौँमा आयोजित प्रभातफेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समितिका सदस्यहरु, बैंकका उच्च अधिकारी तथा कर्मचारीहरुको उपस्थिति थियो ।
काठमाडौं र उपत्यका बाहिरका प्रभातफेरिमा वित्तीय साक्षरता तथा बैंकिङ्ग शिक्षामूलक प्लेकार्ड र व्यानर बोकिएको थियो । ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधा तथा अन्य विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित भइसकेको छ ।
बैंकको सबै जिल्लामा शाखा सञ्जाल पुगेको छ । यसका ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा सेवा केन्द्र छन् ।
बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।
टिप्पणीहरू