चीनमा दक्षिण एशियाली सन्चार सम्मेलन

चीनमा दक्षिण एशियाली सन्चार सम्मेलन
सुन्नुहोस्

चीनको युन्नान प्रान्तमा सम्पन्न दक्षिण तथा दक्षिण पूर्वी एशियाली मिडिया सम्मेलनमा यस क्षेत्रको सन्चारकर्मसम्बन्धी कार्य प्रगतिको समीक्षा र आगामी सहकार्यवारे विचार बिमर्श गरिएको छ ।  

कार्यक्रममा नेटवर्कको कार्य संयन्त्र,विकास लक्ष्य तथा सहयोगका दिशाहरु विषयमा दुई दिन अलगअलग गोलमेच छलफल भएको थियो । छलफलमा नेटवर्कका पदाधिकारीसहित चीनका सरकारी प्रतिनिधि,सन्चारगृह र पार्टीका प्रचार हेर्ने पदाधिकारीले नेटवर्कको प्रगतिबारे धारणा राखेका छन् । कार्यक्रममा अन्तर्राष्ट्रिय सन्चारका लागि नयाँ संयन्त्र बनाउन नेटवर्कको भूमिका सुदृढीकरण विषयमा युन्नान अन्तर्राष्ट्रिय सन्चार केन्द्र,सिन्ह्वा तथा चाइना डेलीका प्रतिनिधिहरुसहित कम्बोडियन सन्चार मन्त्री नेथ फियाक्त्राले आफ्ना भनाई राखेका थिए  ।

कार्यक्रममा नेपालको तर्फबाट आस्था प्रकाशनका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ,प्रेस एशोसियसन भारतका अध्यक्ष सिके नायकले पनि नेटवर्क विस्तारलगायत विषयमा धारणा राखेको बुझिएको छ ।

युन्नानको सिसुआङबान्ना दाइ प्रिफेक्चरमा डिसेम्बर ८ देखि १२ सम्म सम्पन्न सम्मेलनको उद्देश्य सन् २०२४ को शुरुवातमा स्थापित नेटवर्कको कामकारबाहीबारे समीक्षा गर्नु थियो । नेटवर्कमा ४० अन्तर्राष्ट्रिय मिडिया संगठन,५० भन्दाबढी स्थानीय मिडिया तथा १० केन्द्रीय मिडियाका रणनीतिक साझेदारहरु संलग्न छन् ।

सोही कार्यक्रममा युन्नान अन्तर्राष्ट्रिय सन्चार केन्द्रले दक्षिण तथा दक्षिणपूर्वी मिडिया नेटवर्कका सदस्य तथा साझेदारहरुबीच सन् २०२५ का लागि मिडिया सहयोग सम्झौतामा हस्ताक्षरसमेत गरेको छ ।

सो अवसरमा प्रान्तीय प्रचार विभाग प्रमुख चङ्ग यान,अल चाइना पत्रकार संघकी उपाध्यक्ष तथा पार्टी लिडरसिप ग्रुपकी सचिव लिउ सियाङ,युन्नान डेली मिडिया ग्रुपका अध्यक्ष ह चुकुन र चाइना डेलीका उपाध्यक्ष चु पाओसियाले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमका सहभागी पत्रकारहरुलाई म्याजिकल ल्याण्डको भ्रमणलगायतका अन्य मनोरन्जनात्मक कार्यक्रममा सहभागी गराइएको थियो ।

कार्यक्रममा मलेसिया,थाइल्याण्ड,कम्बोडिया,लाओस,भियतनाम,इण्डोनेशिया,इजिप्ट,नेपाल,भारत,बङ्ग्लादेश,पाकिस्तान,श्रीलँकासहित विभिन्न मुलुकका पत्रकारहरुको सहभागिता थियो । त्यस अवसरमा विभिन्न देशबाट आ-आफ्नो सम्पदा,सँस्कृति,प्रकृति,जैविक विविधता,पर्यटन र यसका सँरक्षक,प्रवर्तकहरुवारे बृत्तचित्र देखाउने काम भएको थियो जसले सँयुक्त रास्ट्रसँघीय शैक्षिक,बैज्ञानिक र साँस्कृतिक सँगठन युनेस्कोको पवित्र अभियानलाई एक हदसम्म बल प्रदान गरेको सहभागीहरुले अनुभूत गर्न पाए । 

टिप्पणीहरू