अहिलेबाटै कस्सियो विप्लव माओवादी

अहिलेबाटै कस्सियो विप्लव माओवादी
सुन्नुहोस्

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २०८४ को निर्वाचनलाई लक्षित गर्दै दल दर्ताको तयारी गरेको छ । मंसिर २७ गतेदेखि पुष २ गतेसम्म कपिलवस्तुको शिवगढीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले दल दर्ता गरेर उपयुक्त चुनाव चिन्ह लिने निर्णय गरेको छ ।

बैठकको निर्णयबारे आज राजधानीमा जानकारी गराइएको छ । एकीकृत जनक्रान्तिको १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने र त्यसको लागि विशेष अधिवेशन आयोजना गर्ने पनि नेकपाको तयारी छ । मुलुकमा व्याप्त भ्रष्टाचार, वैदेशिक हस्तक्षेप, सुकुम्बासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा आगामी फागुन २१ गतेदेखि झापादेखि कञ्चनपुर जनमार्च सञ्चालन गरिने जानकारी दिइएको छ ।

२०८४ को निर्वाचनलाई समाजवादको पक्षमा प्रयोग गर्ने बताउँदै नेकपाले भनेको छ, ‘चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ ।’

क्रान्तिकारी पार्टीहरुसँग एकताको उद्देश्य राख्दै मित्र पार्टीहरुसँग मोर्चामा सहकार्य गर्ने नेकपाको योजना छ । पार्टीलाई आत्मनिर्भर गराउन सी व्यापारिक केन्द्र सञ्चालन गर्ने उल्लेख छ ।

टिप्पणीहरू