ओलीले रक्सी खुवाएर केटाहरुलाई मविरुद्ध खटाए : भीम रावल
नेकपा एमालेबाट निकालिएका डाक्टर भीमबहादुर रावलले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनबाटै आफूमाथि षड्यन्त्र शुरु भएको बताएका छन् ।
एमालेले सदस्यता खोसेपछि 'नयाँ यात्रा'बारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले अध्यक्षमा उम्मेदवारी दिएकै कारण अन्यापूर्ण व्यवहार गरिएको बताए । सौराहा महाधिवेशनका घटनाक्रम स्मरण गर्दै रावलले आफू बसेको होटलबाहिर नाराबाजी गर्न लगाएको दावी गरे।
‘म आफ्नै व्यवस्थाले बसेको होटल बाहिर रक्सी खुवाएर केटाहरूलाई नाराबाजी गर्न लगाइयो । मेरो आग्रहमा सशस्त्र प्रहरीको टोलीले त्यहाँबाट धपायो’, उनले भने । अध्यक्ष केपी ओलीलाई 'बा' भन्नेहरुले त्यस्तो गरेको रावलको भनाई छ ।
महाधिवेशनमा एकलौटी गर्ने उद्धेश्यले आफूमाथि विभेद गरिएको बताउँदै उनले प्रश्न गरे, 'अध्यक्ष पदमा उम्मेद्वारी दिएकै कारण स्पष्टीकरण खानुपर्ने र पार्टी सदस्यता खोसिनुपर्ने पनि हुन्छ र ?
सचिवालय बैठकमा आफूलाई कारवाही गर्ने निर्णयको विरोध गर्ने सात नेतालाई रावलले धन्यवाद पनि दिएका छन् । उनको पत्रकार सम्मेलन जारी छ ।
टिप्पणीहरू