यी हुन् वर्षका सर्वाधिक हिट गीत
आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ शुरु भएको छ । बितेको वर्ष २०२४ लाई नियाल्ने हो भने मनोरञ्जन क्षेत्रमा केही नयाँ रेर्कडहरु बने ।
मनोरञ्जनका सामाग्रीहरु सजिलै उपलब्ध हुने युटुब, फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता डिजिटल प्ल्याटफर्महरुले अंग्रेजी मितिकै आधारमा गाइडलाइन बनाएका हुन्छन् । यसकारण पनि मनोरञ्जन क्षेत्रका लागि अंग्रेजी नयाँ वर्षले विषेश महत्व राख्ने कलाकारहरू बताउछन् ।
जस्तो कुनै नेपाली गीत वा चलचित्र कुनै प्ल्याटफर्ममा सार्वजनिक गर्दा अंग्रेजी मिति कायम गरेर राखिएको हुन्छ । नेपाली मनोरञ्जन सामाग्रीलाई विश्वव्यापी बनाउन अंग्रेजी मिति राखिनु स्वभाविक पनि हो ।
अतः सन् २०२४ मा सर्वाधिक हिट भएका नेपाली गीतहरु कुन कुन हुन् ? संक्षेपमा चर्चा गरौँ ।
रुकुम मैकोट
चलचित्र ‘खुश्मा’मा समाविष्ट ‘रुकुम मैकोट’ बोलको गीत वर्ष २०२४ को सर्वाधिक हिट गीत बनेकाे छ । चार महिनाअघि युटुबमा सार्वजनिक भएको यो गीत लामो समय ग्लोबल ट्रेन्डिंगमा समेत परेको थियो । गायक एसडी योगी र गायिका शान्ति श्री परियारले स्वर दिएको गीतलाई हालसम्म आठ करोड ३३ लाख दर्शकले हेरेका छन् ।
अभिनेता धिरज मगर र अभिनेत्री उपासना ठकुरी फिचर्ड भएको गीतलाई सुरेन्द्र रानाले लेखेका हुन् । टिकटकमा राम्रो प्रतिक्रिया पाएको गीतमा लाखौँ दर्शकले डान्स स्टेप दिएका छन् ।
गीतको चर्चाले चलचित्र ‘खुश्मा’को व्यापारमा पनि ठूलो सहयोग पुगेको हल सञ्चालकहरु बताउँछन् । अधिकांश दर्शकहरु गीत सुनेरै हलसम्म पुगेको उनीहरुको बुझाई छ ।
गोर्खे खुकुरी
लोक दोहोरी गीत ‘गोर्खे खुकरी’ वर्षको दोस्रो हिट गीत बन्याे । दश महिनाअघि युटुबमा अपलोड भएको यस गीतले हालसम्म सात करोड ३० लाखभन्दा धेरै भ्युज पाएको छ ।
चलचित्र र लोकपप तथा आधुनिक गीतको दबादबाका बीच गोर्खे खुकुरीले सामाजिक सञ्जालमा तहल्का पिट्यो । निश्चल दवाडी र शान्ति श्री परियारले स्वर दिएको गीतलाई श्यामश्वेत रसाईलीले संगीत दिएका छन् ।
भिडियोमा लोमश शर्मा, सरोज प्रजा, विना राउत, अस्मिता बस्नेत लगायतका कलाकालरहरु फिर्चड छन् ।
कश्मिरे पछ्यौरी
बाबुकृष्ण परियार र दिपिका वयम्बुको स्वरमा सजिएको ‘कश्मीरे पछ्यौरी’ बोलको गीत तेस्रो स्थानमा छ । करिब ११ महिनाअघि युटुबमार्फत सार्वजनिक भएको यस गीतले दर्शकको राम्रो प्रतिक्रिया पाएको देखिन्छ । गीतका क्लिपहरु टिकटक र फेसबुकमा यत्रतत्र छन् ।
निश्चल दवाडीको शब्द तथा संगीत रहेको यस गीतले हालसम्म ६ करोड ५४ लाखभन्दा धेरै भ्युज पाएको छ । भिडियोमा केपिना गोतामे फिर्चड छिन् । उनलाई गायक परियारले साथ दिएका छन् । यो गीतलाई भारतीय दर्शकले समेत रुचाएको पाइन्छ ।
म त ढले ढले...
चार महिनाअघि सार्वजनिक भएको यस गीतको चर्चा अझै सेलाएको छैन । यो समाचार तयार पार्दासम्म गीतलाई झण्डै साढे चार करोड दर्शकले हेरेका छन् । वर्षभरीमा सर्वाधिक रुचाइएका गीतहरुको सूचीमा यो गीत अहिले चौंथो स्थानमा छ । यद्यपि, गीतको हाइप निरन्तर बढिरहेको कारण भ्युज पनि आक्रमक रुपमा बढिरहेको देखिन्छ ।
यस गीतमा बच्चादेखि वृद्धवृद्धाले समेत भिडियो रिल बनाएर समाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । एकल लोक-आधुनिक जनराको यस गीतमा शान्ता रानी परियारकाे स्वर छ ।
नेत्र अर्यालले लेखेको गीतलाई खेम सेन्चुरीले लय दिएका हुन् । भिडियाेमा भने पल शाह र जुना विश्वकर्मा फिचर्ड छन् ।
बार्दली
युवा पुस्ताका चर्चित गायक सुशान्त केसीको ‘बार्दली’ बोलको गीत पाँचौ नम्बरमा छ । दुई महिनाअघि सार्वजनिक भएको गीतले यो समाचार तयार पर्दासम्म तीन करोड ५२ लाखभन्दा धेरै भ्युज पाएको छ ।
गायक केसीकै शब्द, संगीत, स्वर र अभिनय रहेको गीतलाई अशोक अधिकारीले सम्पादन गरेका हुन् । भिडियोमा आकृति राजभण्डारीले साथ दिएकी छन् ।
रोचक के छ भने, गायक केसीले गएकाे वर्ष चार वटा नयाँ गीत सार्वजनिक गरेका थिए । तीमध्ये ‘पर्खन’ बोलको गीतले पनि साढे तीन करोड भ्युज पाएको छ ।
यीबाहेक अन्य गीत पनि करोड क्लबमा छन् । चलचित्र ‘छक्का पञ्चा ५’ को ‘ब्रेकअप’ गीतले तीन करोड ४० लाख भ्युज पाएको छ । चलचित्र ‘पूर्णबहादुरको सारंगी’मा समावेश ‘रैया चाँदी’ गीतलाई साढे दुई करोडले हेरेका छन् ।
त्यस्तै, गायक पूर्ण राईको ‘स्पर्श संगीत’ बोलको गीत पनि साढे दुई करोड भ्युज पाउँदै वर्षकाे हिट गीतको सूचीमा परेको छ ।
टिप्पणीहरू