कस्ता राष्ट्रपति, कस्ता छोरा, कस्ती पत्नी ?
मेरी टाड लिंकन ती व्यक्ति हुन्, पति अब्राहम लिंकनको हत्यापश्चात् जीवनमा ठूलो पीडा भोग्न विवश बनिन् । शुरुदेखि अन्त्यसम्म समस्या झेलिन् । सायद अमेरिकाको कुनै राष्ट्रपति पत्नीले त्यस्तो दीन–जीवन व्यतित गर्नु परेन, जति मेरीले भोगिन् । लिंकनको हत्यापछि वास्तवमै उनको जीवन दुर्भाग्यपूर्ण सावित भयो । लिंकनको नाउँबाट पेन्सनमै गुजारा चलाउनुप¥यो । पेन्सनको रकम पनि उनले सोचेअनुरुपको नभएपछि निराश बनिन् । आफू प्रथम महिला हुँदा खरिद गरेका महँगा लुगा र बहुमूल्य सामान बेच्ने सपना पनि चकनाचुर भयो ।
जीवनसोचेजस्तो नभएपछि अमेरिका बस्ने मोह त्यागिन् । यसबीच मेरी दुई छोरा रोबर्ट र थोमस टाडको अंशबण्डा भयो । तीनै जनाको हातमा ३६/३६ हजार डलर पर्यो । लिंकनको हत्या भएको तीन वर्ष नाघिसकेको थियो । सन् १९६८ को सेप्टेम्बरमा जेठो छोरो रोबर्टले सिनेटर जेम्स हर्लनकी छोरी मेरी युनिस हर्लनसँग बिहे गरेर पत्नीसँग अलग्गै बस्न थाले । वकालत शुरु गरे, बाबु लिंकनकै कारण पेशा चाँडै फस्टायो । मेरीलाई अब कान्छा छोरा थोमसको भविष्यको चिन्ताले मात्र सताउन थाल्यो । थोमसका लागि युरोपको शिक्षा उपयुक्त हुने ठानिन् । किनभने त्यहाँको शिक्षा अमेरिकाको जस्तो महँगो थिएन ।
मेरी र थोमस अक्टोबर १ मा सिटी अफ बाल्टिमोर जहाज चढे । दुई सातापछि जर्मनीको ब्रेमेन शहर पुगे । त्यहाँबाट फ्र्यान्कफर्ट । त्यहाँ मेरीले थोमसलाई एउटा बोर्डिङ स्कुलमा भर्ना गरिदिइन् र आफू शहरको महँगो होटलमा बस्न गइन् । त्यहाँ मासिक तनावबाट मुक्ति पाएको महसुस गरिन् । डच–डचेजलगायत कुलिन घरानाका मानिसहरुसँग उठबस शुरु भयो । आफ्नो लुगा सिलाउने जिम्मा महारानी भिक्टोरियाको दर्जीलाई दिइन् । खर्च बढ्दै गएपछि केही दिनमै आर्थिक समस्या झेलिन् । सहयोगको निवेदन गर्दै कैयौं राजनीतिज्ञ र सिनेटरलाई पत्र लेखिन् । सिनेटर सिमोन क्यामेरोनले सक्दो सहायता गरे । सिनेटमा मेरीको निवेदनमाथि मतदानसमेत गराए । पेन्सन बिल प्रस्तुत गरे । वार्षिक पाँच हजार डलर पेन्सन उपलब्ध गराउन माग गरे । सिनेटमा मतदान हुँदा मेरीको पक्षमा २३ जना मात्र उभिए, २७ जनाले विरोध गरे ।
मेरी दक्षिण फ्रान्स र स्कटल्याण्ड घुम्न गइन् । फ्रयान्कफर्ट फर्केर सस्ता होटलमा बास बसिन् । कोठा सानो थियो, सानो झ्यालयुक्त । उज्यालोको लागि मैनबत्ती बाल्थिन् । फिलाडेल्फिया निवासी सैली बर्न होटल पुग्दा मेरीको अवस्था देखेर रोइन् । ओर्न मेरीकी पुरानो साथी थिइन् । ओर्नले पनि पेन्सन दिलाउन माग गरिन् । ओर्नका लोग्ने तत्कालीन अमेरिकी राष्ट्रपति युलेसेस ग्रान्टका घनिष्ठ मित्र थिए । अन्त्यमा सन् १८७० को १४ जुलाइमा पेन्सन बिल पारित भयो । मेरीले वार्षिक तीन हजार डलर पाउने भइन् र पनि असन्तुष्ट बनिन् । किनभने उनको माग ५ हजार डलर थियो ।
मेरी बुहारीलाई धेरै माया गर्थिन् । उनी बज्यै बनिसकेकी थिइन् । नातिनीको नाउँ आफ्नै नाउँले राखिदिएको सुनेपछि झन् माया उल्र्यो । लण्डन गइन् । थोमसले घर फर्कन जिद्दी गरेपछि उल्टो त्यहाँको स्कुलमा भर्ना गरेर इटली घुम्न गइन् । र, बल्ल १८७० को अप्रिल २९ मा स्वदेश फर्किन् । सिकागोस्थित छोरा रोबर्टको घरमा बस्न थालिन् तर युरोपको चिसोका कारण थोमस बिरामी परे । स्वदेश फर्केको अढाइ महिनामा उनको मृत्यु भयो । मेरी पुत्रशोकबाट विह्वल बनिन् । यसबीच पुस्तक लेखेर अब्राहम लिंकनको जीवनीलाई फिका पार्न पहिला पनि कोशिश गरिसकेका उनैको ल फर्मका साझेदार विलियम हेनरी हर्नडनले लिंकन इसाइ नभएको भ्रम फैलाए । यसबाट सबैले लिंकनलाई शंकाको नजरले देख्न थाले । यो प्रकरणपछि मेरीले हर्नडन मात्र होइन, सबैलाई अविश्वास गर्न थालिन् । साथी, नातागोता, परिवारजन सबैलाई शंका गर्न थालिन् ।
तीन छोरा र लोग्ने गुमाइसकेकी मेरीले जेठा छोरा रोबर्ट पनि मर्न लागेको सपना देखिन् । रोबर्टले यो कुरा थाहा पाएपछि आमालाई सिकागो बोलाए । बन्दरगाहमा स्वागत गरे । रोबर्ट आमालाई आफ्नै घर लैजान चाहन्थे तर मेरी मानिनन् । होटलमा बस्न गइन् । होटल बसाइको क्रममा मेरीमा पटक–पटक मानसिक असन्तुलन देखाप¥यो । पटक–पटक सुत्ने बेला लगाउने गाउन लगाएरै कोठाबाट निस्कने र कसैले पिछा गर्ने गरेको बताउँथिन् । एकपटक अर्धनग्न अवस्थामै स्वचालित सिंढी (एस्कालेटर) चढ्न पुगिन् । रोबर्टले आमालाई कोठामा लिएर जान खोज्दा ‘रोबर्टले मलाई मार्न लाग्यो’ भनेर कराइन् । मेरी प्रत्येक दिन टाउको दुखाइबाट गुज्रन थालिन् । उनी खल्तीमा ५७ हजार डलरको सुरक्षापत्र बोकेर घुम्थिन् । जे पायो, त्यही सामान किन्थिन् । एकैपटक साढे ६ सय डलरको पर्दा, तीनवटा घडी, १७ जोर पञ्जा, तीन दर्जन रुमाल, गरगहना र श्रृंगारका सामान खरिद गरिन् ।
रोबर्टले आमालाई आराम दिलाउन र खर्चमा नियन्त्रण गर्न आवश्यक ठाने । यसका लागि एउटै मात्र उपाय न्यायालयबाट विक्षिप्त घोषणा गराउनु थियो । चिकित्सक र वकिल साथीहरुसितको परामर्शपछि रोबर्टले कुक काउन्टीको अदालतमा निवेदन दिए । पागलखानामा पठाई उपचार गराउन माग गरे । अदालतमा १७ जना साक्षीले रोबर्टको पक्षमा बयान दिए । सबैले मेरीको सम्पत्तिको संरक्षक रोबर्टलाई बनाउन माग पनि गरे । जुरीले सन् १८७५ को मेमा मेरीलाई पागलखाना पठाउने निर्णय सुनायो । मेरी न्यायालयको कारवाही ध्यानपूर्वक सुन्दै थिइन् । उनलाई लाग्यो, सबैभन्दा ठूलो विश्वासघात आफ्नै छोराबाट भएको छ । उनले जिउने इच्छा त्यागिन् । एकदिन होटलबाट एक्लै बाहिर निस्किइन् र विष किन्न औषधि पसल खोज्दै हिँडिन् । एकजना पसलेले नक्कली विष दिए । त्यो विष खाएर सुतिन् तर बिहान आफूलाई जीवितै पाएपछि विषले पनि आफूलाई विश्वासघात गरेको ठहर गरिन् ।
न्यायालयको निर्णयअनुरुप रोबर्टले आमालाई सिकागोभन्दा ३५ माइल टाढाको प्राइभेट सेनेटोरियममा भर्ना गरिदिए । मेरी एउटा हावादार ठूलो कोठामा बस्थिन् । अरु मान्छेसँग भेटघाट गर्ने छुट थियो । हेर्दा शान्त देखिन्थिन् तर उनी त्यहाँबाट भाग्ने उपाय सोचिरहेकी हुन्थिन् । दुःख दिने र पैसा हडप्ने नियतले रोबर्टले आफूलाई त्यहाँ राखेको सम्झिन्थिन् । त्यसैले उनले सिकागोका न्यायाधीश जेम्स ब्रेडबेल र उनकी पत्नीको मद्दत लिन चाहिन् । उनीहरुले सार्वजनिक रुपमै मेरीलाई अनावश्यक रुपमा कैदी बनाएको बयान दिए । त्यसपछि मेरीलाई स्प्रिङफिल्डस्थित घरमा लगियो । साथै सन् १८७६ को जुन १५ मा न्यायालयले मेरीको मानसिक सन्तुलन ठीक भइसकेको निर्णय सुनाउँदै उनको सम्पत्तिमाथि रोबर्टको नियन्त्रण खारेज गरिदियो ।
मेरी त्यसपछि अमेरिकामै बसिनन् । श्रीसम्पत्ति सबै लोग्नेका मित्र ज्याकोब बनलाई सुम्पेर फ्रान्स पुगिन् । उनी त्यहाँ चार वर्ष बसिन् । यसबीच बसेको घरका भित्तामा तस्बिर झुण्ड्याउने क्रममा टुलबाट लडिन् र मेरुदण्डमा चोट लाग्यो । स्वदेश फर्किसकेपछि पुनः एकपटक जहाजको भर्याङबाट लडिन् तर प्रशिद्ध नायिका सारा बर्नहार्टले बचाइन् । त्यसैबेला साराले आफ्नो परिचय दिँदा मेरीले ‘म अब्राहम लिंकनकी विधवा पत्नी हुँ’ भन्दै घमण्डी पाराले प्रत्युत्तर दिएर हिँडिन् । मेरी न्युयोर्क हुँदै स्प्रिङफिल्ड फर्केर बहिनीको घरमा बस्न थालिन् । त्यहाँ बस्दा पैसा पोको पारेर कम्मरमा बाँधी बस्थिन् । आफ्नो सामान दिनहुँ हेर्थिन् । उनको सामान ६४ वटा सन्दुकमा थियो ।
सन् १८८१ को मेमा रोबर्ट आमालाई भेट्न गए । रोबर्ट एक्लै आएको भए मेरीले उनलाई झम्टिन्थिन् होला, त्यही आभाष पाएर रोबर्टले आफ्नी छोरी मेरीलाई लिएर गएका थिए । रोबर्ट त्यो बेला अमेरिकाको युद्ध मन्त्री बनिसकेका थिए । यसबीच राष्ट्रपति जेम्स गारफिल्डको हत्या भयो । उनकी विधवा पत्नी र पाँच सन्तानको भरणपोषणका लागि भनेर संसद्ले वार्षिक पाँच हजार डलर दिने निर्णय ग¥यो । सोहीअनुरुप मेरीको पेन्सन पनि बढ्यो तर यसबीच उनको स्वास्थ्य स्थिति नाजुक बन्यो । मेरुदण्डको समस्या बढ्दै गयो । पक्षघातको पनि शिकार बनिन् । हिँड्न असमर्थ भइन् । आँखाले देख्न छाड्यो । अन्तिम समयमा आमा र छोराको पुनर्मिलन भयो । सन् १८८२ जुलाई १६ को दिन ६५ वर्षको उमेरमा उनको निधन भयो । अन्तिम दिनमा मधुमेहबाट ग्रसित थिइन् । बाँचुञ्जेल ‘म गरिब छु, जुनसुकै बेला पनि भोकमरीमा पर्न सक्छु’ भनी सम्पत्ति च्यापेर बस्ने गरेकी उनको निधन हुँदा अब्राहम लिंकनले छाडेर गएको भन्दा पनि बढी सम्पत्ति थियो– अर्थात् १ लाख डलर नगद तथा कपडा र गरगहनाले भरिएका ६४ वटा सन्दुक ।
आमाको मृत्युको समय रोबर्ट युद्धमन्त्री नै थिए । उनीपछि राष्ट्रपति बेञ्जामिन ह्यारिसको कार्यकालमा बेलायतका निम्ति अमेरिकी राजदूत बने । पुलमन प्यालेस कार कम्पनीको अध्यक्ष बने । सन् १८८४ र सन् १९१२ को बीच रिपब्लिकन पार्टीले उनलाई पटक–पटक राष्ट्रपति–उपराष्ट्रपतिको उम्मेदवार बनाउन खोज्यो तर मानेनन् । उनको एकपटक हत्या प्रयास पनि गरे– हडबिन बुथले । हडबिन अब्राहम लिंकनका हत्यारा जोन विल्किस बुथका दाजु थिए ।
टिप्पणीहरू