भीम रावलबारे एमालेको प्रतिक्रिया-ओलीमाथिको आरोप प्रचण्डको कपीपेस्ट

भीम रावलबारे एमालेको प्रतिक्रिया-ओलीमाथिको आरोप प्रचण्डको कपीपेस्ट
सुन्नुहोस्

नेकपा एमालेले पूर्वउपाध्यक्ष डाक्टर भीमबहादुर रावलको हिजोको अभिव्यक्तिलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चार वर्षअघि लगाएको आरोपको कपीपेस्ट भनेको छ ।

उपमहासचिव तथा प्रवक्ता प्रदीप ज्ञवालीले यस्तो प्रतिक्रिया दिएका हुन् । रावलले अध्यक्ष ओलीमाथि लगाएका आरोप अपेक्षित नै भएको उनले बताए । 

‘हामीले धेरै छलफल गरेनौँ । किनभने त्यो नौलो कुरा भएन । २०७७ साल कात्तिकमा यिनै भाषामा प्रचण्डले अध्यक्ष केपी ओलीलाई यस्तै खालका टिप्पणी गर्नुभएको थियो’, आज सचिवालय बैठकपछि ज्ञवालीले भने,‘एक किसिमले कपीपेस्ट जस्तै हो नयाँ कुरा छैन ।’ 

आरोप लगाएबाटै रावलमा कति धेरै नकारात्मकता भरिएको रहेछ भन्ने पुष्टि भएको उनको भनाइ छ । गालीगलौजले देश नबन्ने भन्दै उनले आफूहरु आरोप-प्रत्यारोपमा लाग्ने पक्षमा नरहेको पनि प्रष्ट पारे । 

एमालेबाट निकालिएका डा. रावलले हिजो पत्रकार सम्मेलन गर्दै ओलीलाई दर्जनौँ प्रश्न सोधेका थिए ।

टिप्पणीहरू